काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गरेका छन्।
अर्थमन्त्री वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत शनिबार साँझ ७ बजे कतारको राजधानी दोहा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री वाग्लेसँगै अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख तथा सहसचिव अमृत लम्साल सहभागी छन्।
दोहामा हुने बैठकका क्रममा अर्थमन्त्री वाग्ले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागी हुने कार्यक्रम छ। उक्त अवसरमा नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकतामा बहुपक्षीय सहयोग र लगानी परिचालनका विषयमा छलफल हुने बताइएको छ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसँग भेटवार्ता गर्नेछन्। साथै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको सचिवालयले जनाएको छ।
बैठक तथा भेटवार्ता सम्पन्न गरी अर्थमन्त्री वाग्ले असोज १४ गते बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।