ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।
विश्व मुटु दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री थापाले नागरिक स्वस्थ नभएसम्म मुलुकको समग्र विकास सम्भव नहुने बताएका हुन्। उनले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आवश्यक कार्यक्रम अघि बढाइरहेको जानकारी दिए।
मुख्यमन्त्री थापाका अनुसार बागमती प्रदेशका १३ वटै प्रादेशिक अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने काम भइरहेको छ। साथै, एकीकृत स्वास्थ्य सेवा तथा पोषण प्रवर्द्धनका कार्यक्रमलाई समेत प्राथमिकताका साथ सञ्चालन गरिएको उनले बताए।
कार्यक्रममा पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा राज्यले पर्याप्त लगानी बढाउनुपर्ने धारणा राखे। उनले आर्थिक रूपमा विपन्न नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्ने बताए।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले मुटुसम्बन्धी रोग लागेपछि उपचार गर्नुभन्दा रोगको रोकथाम र जनचेतनामा जोड दिनुपर्ने बताए। स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य परीक्षण र समयमै सचेतना अपनाउन सके धेरै रोगबाट बच्न सकिने उनको भनाइ थियो।
विश्व मुटु दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत मुटुरोगको जोखिम न्यूनीकरण, स्वस्थ जीवनशैली र रोगको रोकथामबारे जनचेतना फैलाउने विषयमा समेत जोड दिइएको थियो।