विदेश भ्रमणबाट फर्किँदा प्रधानमन्त्री शाहलाई विमानस्थलमा औपचारिक स्वागत नगरिने

1.1k Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ शनिबार स्वदेश फर्किने भएका छन्। प्रधानमन्त्रीको स्वदेश फिर्तीका क्रममा विमानस्थलमा औपचारिक तामझामसहितको स्वागत नगरिने स्रोतले जनाएको छ।

यसअघि विदेश भ्रमण सकेर फर्किने प्रधानमन्त्रीलाई विमानस्थलमा रेड कार्पेट बिछ्याएर औपचारिक स्वागत गर्ने, सलामी दिने तथा मन्त्री, कूटनीतिज्ञ र उच्चपदस्थ अधिकारीको उपस्थितिमा स्वागत गर्ने परम्परा रहँदै आएको थियो।

तर प्रधानमन्त्री शाहको यसपटकको स्वदेश फिर्तीमा भने त्यस्तो औपचारिक कार्यक्रम नराखिने बताइएको छ। स्रोतका अनुसार विमानस्थलमा रेड कार्पेट नबिछ्याइने, औपचारिक सलामी नदिइने तथा ठूलो संख्यामा मन्त्री, कूटनीतिज्ञ र उच्चपदस्थ कर्मचारीको सहभागिता पनि रहने छैन।

प्रधानमन्त्री विमानस्थलमा ओर्लिएपछि सामान्य प्रक्रियाबाट बाहिरिने र सिधै आफ्नो गन्तव्यतर्फ जाने तयारी रहेको स्रोतको भनाइ छ।

प्रधानमन्त्रीको स्वागतका लागि भने गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल विमानस्थल पुग्ने स्रोतले जनाएको छ। प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गर्दा पनि दुवै मन्त्री विमानस्थलमा पुगेका थिए।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार अमेरिका प्रस्थान गरेका थिए। महासभाका क्रममा उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतिनिधिसँग भेटवार्ता तथा नेपालको धारणा प्रस्तुत गरेका थिए।

सम्बन्धित समाचार