पञ्चासेमा १८९ मिलिमिटर वर्षा, विभिन्न नदीमा सतर्कता तह नजिक

1.1k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा देशभरकै सबैभन्दा धेरै १८९ मिलिमिटर वर्षा भएको छ। लगातारको वर्षासँगै विभिन्न जिल्लाका नदी तथा खोलामा पानीको सतह बढेको छ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७० दशमलव ८ मिलिमिटर, म्याग्दीको कुहुनमा १६५ दशमलव २ मिलिमिटर र दर्वाङमा १६१ मिलिमिटर वर्षा मापन भएको छ।

केन्द्रका अनुसार अहिले कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले तथा स्याङ्जाको पाँचमूललगायतका वर्षा मापन केन्द्रमा पानी परिरहेको छ।

वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेर सतर्कता तह नजिक पुगेको छ। बाढी मापन केन्द्रका अनुसार बाँकेको किरन नाला नदी र म्याग्दीको मङ्गलघाटमा नदीको बहावले सतर्कता तह पार गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। भारतको छत्तीसगढ तथा उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ जाने र आगामी १२ घण्टामा कमजोर हुँदै न्यून चापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज बिहानदेखि काठमाडौँ उपत्यकामा वर्षा रोकिए पनि उपत्यकासहित देशभर अधिकांश भू–भागमा बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थान र कोशी तथा मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम विभागले मधेस प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ। त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका खोच तथा उपत्यकाका केही स्थानमा समेत हावाहुरी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षा तथा हावाहुरीका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसँगै उद्धार र राहतका काममा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

सम्बन्धित समाचार