१३ प्रस्तावित राजदूतबारे संसदीय सुनुवाइ समितिले माग्यो उजुरी

1.2k Shares

काठमाडौँ । सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेका व्यक्तिहरूको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले सार्वजनिक आह्वान गरेको छ।

समितिले सार्वजनिक गरेको सूचनाअनुसार प्रस्तावित राजदूतमध्ये कुनै व्यक्ति नियुक्तिका लागि उपयुक्त नभएको आधार र प्रमाण कसैसँग भए रीतपूर्वक उजुरी दिन सकिनेछ। सूचना प्रकाशित भएको मितिले १० दिनभित्र संघीय संसद् सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

उजुरीकर्ताले प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा आफूले उजुरी दिनुपर्ने स्पष्ट आधार र प्रमाण खुलाउनुपर्ने समितिले जनाएको छ। प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरेपछि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ अघि बढाइनेछ।

समितिको असोज ८ गते बसेको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिस गरिएको छ।

त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ।

संसदीय सुनुवाइ समितिबाट प्रस्तावित नामहरू अनुमोदन भएपछि सम्बन्धित राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ। समितिले निर्धारित अवधिभित्र प्राप्त हुने उजुरीलाई सुनुवाइ प्रक्रियामा आवश्यकताअनुसार समेटिने जनाएको छ।

सम्बन्धित समाचार