भोटेकोशी बाढीको असर : ३८ विद्यार्थी बेपत्ता, २०१ अभिभावक गुमाउँदा बालबालिकाको पढाइ अन्योलमा

1.4k Shares

रसुवा । भोटेकोशी नदीमा आएको बाढीले रसुवाका संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी र तिनका परिवारमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीमा ३८ जना विद्यार्थी बेपत्ता भएका छन् भने २०१ जना अभिभावकसमेत बेपत्ता भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रसुवाले जनाएको छ।

प्याब्सन रसुवाका अध्यक्ष पासाङ लामाका अनुसार गोसाइँकुण्ड बोर्डिङ स्कुलका १९ जना, मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका १० जना र हाइल्याण्ड आवासीय माध्यमिक विद्यालयका नौ जना विद्यार्थी बाढीपछि बेपत्ता छन्।

बाढीका कारण ठूलो सङ्ख्यामा अभिभावक गुमाएपछि विद्यालयमा अध्ययनरत सयौँ बालबालिकाको भविष्य र पठनपाठनसमेत अन्योलमा परेको छ। प्याब्सनको तथ्याङ्कअनुसार गोसाइँकुण्ड बोर्डिङका ४६, हाइल्याण्ड आवासीय माविका ४२, नमूना एभरग्रिनका ४१, मोडर्न ट्रिनिटीका ३३, ग्रीनगार्डनका २५, नर्थपोलका नौ र हिमालयनका पाँच विद्यार्थीले आफ्ना अभिभावक गुमाएका छन्।

आमाबुबा तथा अभिभावक गुमाएका बालबालिका अहिले आश्रय, संरक्षण र नियमित शिक्षाबाट समेत प्रभावित भएका छन्। बाढीका कारण विद्यालयसहित विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ। मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक सुरोज डङ्गोल र एक शिक्षिकासमेत बाढीमा बेपत्ता भएको प्याब्सनले जनाएको छ।

बाढीपछि विद्यालय छात्रावासमा रहेका अभिभावकविहीन विद्यार्थीको खानपान तथा आवश्यक व्यवस्थापनमा सहयोग गरिएको अध्यक्ष लामाले बताए। उनका अनुसार विद्यालय तत्काल सञ्चालनमा ल्याउन आवश्यक खाद्यान्न तथा अन्य सामग्रीसमेत उपलब्ध गराइएको छ।

रसुवाका संस्थागत सात विद्यालयमध्ये पाँच वटा विद्यालय पुनः सञ्चालनमा आइसकेका छन्। बाढीबाट बढी क्षति पुगेका दुई विद्यालयलाई पनि आवश्यक तयारी पूरा गरी केही समयमै सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।

प्रभावित बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न प्याब्सन रसुवाले सहयोगका लागि सम्बन्धित पक्षसँग अपिल गरेको छ। केन्द्रीय प्याब्सनको समन्वयमा अभिभावक गुमाएका तथा बाढीबाट प्रभावित विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन पहल भइरहेको प्याब्सनले जनाएको छ।

बाढीबाट विस्थापित तथा अभिभावकविहीन बनेका बालबालिकाको शिक्षा निरन्तरता, संरक्षण र आधारभूत आवश्यकताको व्यवस्थापन अहिले मुख्य चुनौती बनेको छ।

सम्बन्धित समाचार