कांग्रेस महाधिवेशन व्यवस्थापनका लागि १५ समिति गठन, थापाको संयोजकत्वमा निर्देशन समिति

1.4k Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ। पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरिएको हो।

निर्देशन समितिमा विश्वप्रकाश शर्मा, पुष्पा भुषाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, उमेश श्रेष्ठ, महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य रहेका छन्। प्रताप पौडेललाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।

महाधिवेशनको आर्थिक व्यवस्थापन समितिको संयोजकमा उमेश श्रेष्ठ, सूचना–सञ्चार तथा प्रविधि समितिमा देवराज चालिसे, सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिमा उदयशमशेर राणा र अतिथि स्वागत समितिमा डा. डिला संग्रौला पन्तलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, महाधिवेशन समारोह स्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं जिल्ला सभापतिलाई दिइएको छ। प्रदेश तथा स्थानीय तहगत समन्वय समितिको संयोजकमा बहादुरसिंह लामा, जेष्ठ महाधिवेशन प्रतिनिधि समन्वयमा सुधीर शिवाकोटी र स्वयंसेवक व्यवस्थापनमा गणेश लामा तोकिएका छन्।

भोजन व्यवस्थापन समितिको संयोजकमा तिलक रानाभाट, आवास व्यवस्थापनमा रमेशप्रसाद धमला, स्वास्थ्य समितिमा डा. केदारनरसिंह केसी, यातायात व्यवस्थापनमा विजयबहादुर स्वाँर तथा सांस्कृतिक–साहित्यिक संयोजनमा सीता गुरुङलाई जिम्मेवारी दिइएको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार महाधिवेशनका विभिन्न पक्षलाई व्यवस्थित र प्रभावकारी बनाउन समितिहरू गठन गरिएको हो।image-140-768x1086.png

सम्बन्धित समाचार