हर्मुज खोल्ने इरानको सातदिने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार

2.7k Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्य पुनः खोल्ने र मध्यपूर्वमा युद्धविराम गर्ने इरानको सातदिने प्रस्ताव अस्वीकार गरेको रिपोर्ट सार्वजनिक भएको छ। वाल स्ट्रिट जर्नलको रिपोर्टलाई उद्धृत गर्दै रोयटर्सले यसबारे जानकारी दिएको हो।

इरानले कतारका मध्यस्थमार्फत अमेरिकासमक्ष प्रस्ताव पठाएको थियो। प्रस्तावमा सात दिनभित्र हर्मुज जलडमरूमध्य पुनः खोल्ने, विभिन्न मोर्चामा जारी सैन्य गतिविधि रोक्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, रोक्का गरिएको इरानी रकम फुकुवा गर्ने तथा तेलसम्बन्धी प्रतिबन्ध हटाउने विषय समेटिएका थिए। त्यसपछि आणविक कार्यक्रमलगायत विषयमा वार्ता अघि बढाउने प्रस्ताव थियो।

इरानी विदेशमन्त्री अब्बास अराघ्चीले आवश्यक सर्त पूरा भएमा सात दिनभित्र जलडमरूमध्यमा सामान्य समुद्री आवागमन पुनः सुरु गर्न सकिने बताएका थिए। उनले अब प्रस्ताव स्वीकार गर्ने वा नगर्ने निर्णय अमेरिकाको हातमा रहेको बताएका थिए।

तर ट्रम्पले प्रस्ताव अस्वीकार गरेको रिपोर्ट सार्वजनिक भए पनि अमेरिकी सरकारबाट यसबारे औपचारिक प्रतिक्रिया आएको छैन। यसबीच कतारको मध्यस्थतामा अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता जारी रहेको बताइएको छ।

हर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक भएकाले यसको अवस्था क्षेत्रीय तनावसँगै विश्वव्यापी ऊर्जा आपूर्तिमा पनि प्रभाव पार्ने विषय बनेको छ।

 
 
 
सम्बन्धित समाचार