हर्मुज जलघाँटी खोल्न इरानको सातदिने सर्तसहितको प्रस्ताव
3k
Shares
न्युयोर्क ।इरानले हर्मुज जलघाँटी पुनः खुला गर्न र आणविक कार्यक्रमबारे अमेरिकासँग वार्ता अघि बढाउन सातदिने योजना प्रस्ताव गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार अमेरिकी पक्षले प्रस्तावका केही सर्त पूरा गरे सातौँ दिनको अन्त्यसम्म हर्मुज खुला गरिनेछ र त्यसपछि आणविक वार्ता सुरु हुनेछ।
इरानले युद्धविराम, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानी तेलमाथिका प्रतिबन्ध खुकुलो पार्ने तथा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नेलगायतका विषयलाई प्रस्तावसँग जोडेको विवरण सार्वजनिक भएको छ।
अराघचीका अनुसार प्रस्ताव मध्यस्थकर्तामार्फत अमेरिकी पक्षसमक्ष पठाइएको हो। यो योजना यसअघि जुनमा अमेरिका र इरानबीच भएको समझदारीको ढाँचासँग मिल्दोजुल्दो रहेको उनले बताएका छन्।
हर्मुज जलघाँटी विश्वको प्रमुख ऊर्जा तथा सामुद्रिक व्यापार मार्गमध्ये एक भएकाले यसको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा असर पार्दै आएको छ। यद्यपि, इरानी प्रस्तावबारे दुवै पक्षबीच ठोस सम्झौता भएको पुष्टि भने भइसकेको छैन।