खुम्बुमा भारी हिमपात, इम्जा छेमा रोकिएका ७ विदेशी पर्यटकको उद्धार

1.4k Shares

सोलुखुम्बु । खुम्बुको उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि इम्जा छे (आइल्यान्ड पिक) क्षेत्रमा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ।

निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो क्षेत्रमा हिमपात सुरु भएको हो। हिमपातका कारण उच्च क्षेत्रमा आवागमन कठिन हुनुका साथै पदयात्रा तथा पर्वतारोहणमा गएका पर्यटक जोखिममा पर्न थालेपछि स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र प्रहरीको समन्वयमा उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको हो।

प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ। हिमपात जारी रहेकाले जोखिमयुक्त क्षेत्रमा पर्यटक तथा पदयात्रीलाई थप अघि बढ्न रोक लगाइएको छ।

उद्धार गरिएका सात जना पर्यटक चिनियाँ मूलका युरोपेली नागरिक भएको प्रशासनले जनाएको छ। उनीहरू इम्जा छे क्षेत्रमा हिमपातका कारण रोकिएका थिए।

इम्जा छे सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने प्रमुख पर्वतारोहण गन्तव्य हो। समुद्री सतहबाट करिब ६ हजार १६५ मिटर उचाइमा रहेको यो क्षेत्र खुम्बुको महत्वपूर्ण पर्वतारोहण क्षेत्रमा पर्छ।

सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक

प्रशासनका अनुसार हाल सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक रहेका छन्। प्रतिकूल मौसमका कारण उनीहरूको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोकारवाला निकायमार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनले जनाएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार मौसम प्रतिकूल भएपछि पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन सूचना जारी गरिएको छ। थुक्ला, थोरकसेप र गोक्योलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको गाउँपालिकाले जनाएको छ।

प्रशासनले मौसम सामान्य नभएसम्म उच्च क्षेत्रमा अनावश्यक आवागमन नगर्न आग्रह गरेको छ। साथै पर्यटक, पदयात्री, पर्वतारोही, गाइड तथा भरियालाई मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न र जोखिमपूर्ण अवस्थामा माथिल्लो क्षेत्रमा नजान अनुरोध गरिएको छ।

हिमपात थप बढेमा उच्च क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको उद्धारका लागि स्थानीय तह, प्रहरी, प्रशासन र स्थानीयवासीबीच समन्वय कायम गरिएको प्रमुख जिल्ला अधिकारी थापा मगरले बताएका छन्।

सम्बन्धित समाचार