वर्षाका कारण कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिवेशन प्रक्रिया प्रभावित

1.4k Shares

काठमाडौं । लगातारको वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशन प्रभावित भएका छन्। भारी वर्षाका कारण कतिपय स्थानमा अधिवेशन सञ्चालन गर्न कठिनाइ भएपछि निर्वाचन कार्यक्रमलाई मौसमअनुकूल व्यवस्थापन गर्न कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ।

कांग्रेसका अनुसार वडा अधिवेशन सम्पन्न भइसकेको छ भने गाउँ तथा नगर अधिवेशनहरू जारी छन्। हालसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको जनाइएको छ। वर्षाका कारण बाँकी स्थानीय तहका अधिवेशनमा समेत असर परेको छ।

त्यस्तै, असोज १० गतेका लागि तय गरिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मौसम अनुकूल रहेका स्थानमा तोकिएकै मितिमा सञ्चालन गर्न भनिएको छ। मौसम प्रतिकूल रहेका क्षेत्रमा भने सम्बन्धित जिल्ला तथा क्षेत्रीय पार्टी समितिसँग समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ।

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका कायम छ। पार्टीको आधिकारिक निर्वाचन कार्यतालिकाले पनि यही मितिमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख गरेको छ।

यसरी अहिलेको वर्षाले महाधिवेशनअन्तर्गतका तल्ला तहका अधिवेशनको व्यवस्थापनमा चुनौती थपिए पनि केन्द्रीय महाधिवेशनको निर्धारित मितिमा भने हालसम्म परिवर्तन गरिएको जानकारी सार्वजनिक भएको छैन।

 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार