बालेन शाहको सम्बोधनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान खिच्यो

1.7k Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान आकर्षित गरेको छ।

न्युयोर्कमा भएको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनबाट सिर्जित विश्वव्यापी संकटको चेतावनीका रूपमा प्रस्तुत गरेका थिए। उनले हिमालयमा बढ्दो तापक्रम, पग्लिँदै गरेका हिमनदी तथा पर्माफ्रोस्टका कारण बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढिरहेको बताएका थिए।

शाहको सम्बोधनमा नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेको विषय प्रमुख रूपमा उठाइएको थियो। उनले जलवायु न्यायलाई भाषण र दस्तावेजमा सीमित नराखी व्यवहारमै लागू गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका थिए।

उनले नेपाल, भारत र चीनको सहभागितामा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्न प्रस्तावसमेत गरेका थिए। यस्तो संयन्त्रमार्फत भू–उपग्रहसम्बन्धी तथ्यांक तथा वैज्ञानिक ज्ञान आदानप्रदान, हिमतालको निगरानी, पूर्वसूचना प्रणाली सुदृढीकरण तथा विपद्का बेला क्षेत्रीय सहकार्य गर्न सकिने उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले युद्ध र हतियारमा खर्च हुने स्रोतलाई मानवता, विकास तथा खाद्य सुरक्षामा केन्द्रित गर्नुपर्ने धारणा राखेका थिए। उनले विश्वको विद्यमान अन्तर्राष्ट्रिय व्यवस्थामाथि प्रश्न उठाउँदै विपद्बाट प्रभावित र जलवायु संकटको उच्च जोखिममा रहेका मुलुकलाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका थिए।

शाहको सम्बोधनका मुख्य विषयलाई एएफपी, फ्रान्स २४, अरब न्युज, द कोरिया टाइम्स, एएनआई र हिन्दुस्तान टाइम्सलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचारका रूपमा प्रकाशित गरेका छन्। विशेषगरी नेपालमा आएको बाढीलाई विश्वका लागि ‘चेतावनी’ का रूपमा प्रस्तुत गरिएको उनको भनाइलाई ती सञ्चारमाध्यमले प्राथमिकताका साथ उल्लेख गरेका छन्।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले विश्व शान्तिको कामना गर्दै भगवान् पशुपतिनाथले विश्वलाई आशीर्वाद दिऊन् र बुद्धले देखाएको बाटोमा विश्व अघि बढ्न सकोस् भन्ने शुभकामना दिएका थिए।

सम्बन्धित समाचार