रोशी खोलामा सतर्कता तह पार, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह

1.2k Shares

काठमाडौँ । काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पनौती जलमापन केन्द्रमा बिहीबार बिहान ५ः३० बजे रोशी खोलाको जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो।

महाशाखाका अनुसार खोलाको जलसतह अझै बढ्दो क्रममा रहेको छ। निरन्तर वर्षाका कारण खोलामा बहाव तीव्र भएकाले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको जनाइएको छ।

जलसतह बढिरहेको अवस्थामा तल्लो तटीय क्षेत्र तथा विगतमा डुबान हुने गरेका स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसैगरी, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सम्भावित बाढी तथा डुबानबाट जोगिन सुरक्षित स्थानमा रहन स्थानीय प्रशासन तथा सुरक्षा निकायले अपिल गरेका छन्। नदी तथा खोलाको आसपास अनावश्यक रूपमा नजान र जलसतहको अवस्थाबारे निरन्तर जानकारी लिन पनि आग्रह गरिएको छ।

अविरल वर्षा जारी रहेकाले रोशी खोलाको जलसतह थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो।

सम्बन्धित समाचार