राष्ट्रसंघमा भुटानी प्रधानमन्त्रीको ‘सेल्समेन’ सम्बोधन : ‘म नीति होइन, आइडिया बेच्न आएको हुँ’

1.3k Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा बुधबार सम्बोधन गरेका भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले परम्परागत राजनीतिक भाषणभन्दा फरक शैलीमा आफ्नो देशको महत्वाकांक्षी गेलेफू माइन्डफुलनेस सिटी (जीएमसी) परियोजना विश्वसामु प्रस्तुत गरेका छन् ।

सम्बोधनको सुरुमै आफूलाई प्रधानमन्त्री नभई ‘सेल्समेन’ का रूपमा प्रस्तुत गरेका तोब्गेले आफू कुनै सामान वा नीति बेच्न नभई एउटा ‘आइडिया’ बेच्न आएको बताए ।

उनको सम्बोधनको अधिकांश समय दक्षिण भुटानमा निर्माण भइरहेको जीएमसी परियोजनाको अवधारणा, सम्भावना र लगानीका अवसरबारे केन्द्रित थियो ।

‘सिंगापुरभन्दा पाँच गुणा ठूलो हुनेछ’

तोब्गेका अनुसार करिब ४ हजार वर्गकिलोमिटर क्षेत्रमा फैलिने जीएमसी सिंगापुरभन्दा करिब पाँच गुणा ठूलो हुनेछ । भुटानले यसलाई दक्षिण एसिया र दक्षिणपूर्वी एसियालाई जोड्ने नयाँ आर्थिक तथा शहरी केन्द्रका रूपमा विकास गर्न खोजेको छ ।

जीएमसीमा भुटानका परम्परागत कानुन र संरचनाभन्दा फरक नियामकीय व्यवस्था रहने उनको भनाइ थियो । सिंगापुरबाट कानुनी सिद्धान्त, अबुधाबीबाट आर्थिक नियमन र बेलायतबाट स्वतन्त्र न्यायपालिकासम्बन्धी अभ्यास सिक्न सकिने उदाहरण दिँदै उनले जीएमसीमा प्रशासन, विधायकी, कानुन र व्यवसायका क्षेत्रमा स्वतन्त्रता हुने बताए ।

उनले विश्वभरका आर्थिक, शैक्षिक, कानुनी तथा अन्य क्षेत्रमा दक्ष जनशक्तिलाई जीएमसीमा आकर्षित गर्ने योजना पनि सुनाए ।

युवालाई देशमै रोक्ने प्रयास

भुटानका नागरिक विदेशिने क्रम बढेको प्रसंग उल्लेख गर्दै तोब्गेले युवालाई देशमै बस्न आग्रह गरेर मात्र नहुने बताए ।

उनका अनुसार देशमै राम्रो रोजगारी, अवसर, उद्यमशीलता र भविष्य सिर्जना गर्नुपर्ने भएकाले भुटान रूपान्तरणको बाटोमा अघि बढ्न खोजिरहेको छ ।

जीएमसीलाई उनले यही रूपान्तरणको प्रमुख माध्यमका रूपमा प्रस्तुत गरे । ध्यान तथा मेडिटेसन केन्द्रदेखि डेटा सेन्टरसम्म, भुटानी प्रकृति र संस्कृतिदेखि कृत्रिम बौद्धिकतासम्मका क्षेत्रलाई एउटै शहरमा समेट्ने योजना रहेको उनले बताए ।

जीएमसीको सम्पूर्ण ऊर्जा हरित ऊर्जामा आधारित हुने उनको भनाइ थियो ।

भारतसँगको कनेक्टिभिटीलाई मुख्य आधार

तोब्गेले भारतलाई भुटानको ‘विश्वासिलो मित्र’ भन्दै जीएमसीको भविष्यका लागि भारतसँगको निकटतालाई महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे ।

उनका अनुसार जीएमसीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ भने भारतको विशाल रेलवे सञ्जालसँग जोड्ने काम पनि अघि बढिरहेको छ । जीएमसीको आफ्नै कानुन, न्यायिक संरचना र डिजिटल मुद्रासम्बन्धी व्यवस्था रहने योजना उनले सुनाए ।

करिब ५ खर्ब अमेरिकी डलरबराबरका परियोजनामा समन्वय भइरहेको उल्लेख गर्दै तोब्गेले जीएमसीलाई ‘४ हजार वर्गकिलोमिटरको स्टार्टअप’ का रूपमा बुझ्न आग्रह गरे ।

भुटानले उक्त ‘स्टार्टअप’का लागि विश्वभरबाट ‘कोफाउन्डर’ खोजिरहेको उनको भनाइ थियो ।

‘पुँजीवाद, प्रविधि र महत्त्वाकांक्षाबाट भाग्ने परियोजना होइन’

तोब्गेले जीएमसीलाई केवल आर्थिक परियोजनाका रूपमा नभई प्रकृति, संस्कृति र मानवीय कल्याणसँग आर्थिक विकास जोड्ने प्रयासका रूपमा व्याख्या गरे ।

‘जीएमसी पुँजीवाद, प्रविधि वा महत्त्वाकांक्षाबाट भाग्ने परियोजना होइन,’ उनले भने, ‘यी तीनवटैलाई प्रकृति, संस्कृति र मानव कल्याणलाई जोगाउँदै फलाउने–फुलाउने परियोजना हो।’

बुद्ध धर्मको ‘साम्बाला’ अवधारणासँग उद्यमशीलता र मानवीय कल्याणलाई जोड्दै उनले जीएमसीमा यी पक्षलाई सँगसँगै अघि बढाउने बताए ।

सम्बोधनको अन्त्यमा उनले लगानीकर्ता, उद्यमी, कम्पनी तथा साझेदारी खोजिरहेका सरकार र संस्थाहरूलाई जीएमसीमा आउन आग्रह गरे । ‘भविष्य आउने होइन, बनाउने हो । र, भुटानमा हामीले बनाउन थालिसकेका छौँ,’ तोब्गेले भने ।

जीएमसी परियोजना भुटानी राजा जिग्मे केशर नाम्ग्याल वाङ्चुकले सन् २०२३ मा भुटानको ११६औँ राष्ट्रिय दिवसका अवसरमा अघि सारेका थिए । दक्षिण भुटानको सार्पाङ जिल्लामा पर्ने यो परियोजनालाई भुटानले आर्थिक विकास, प्रविधि, वातावरण संरक्षण र मानवीय कल्याणलाई एकसाथ जोड्ने दीर्घकालीन परियोजनाका रूपमा अघि बढाइरहेको छ ।

सम्बन्धित समाचार