काठमाडौं । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको १५औँ महाधिवेशनको आधिकारिक लोगो र मूल नारा सार्वजनिक गरेको छ।
महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने मूल नारा तय गरेको छ।
सार्वजनिक गरिएको लोगोको माथिल्लो भागमा कांग्रेसको चारतारे झण्डा, बीचमा अङ्कमा ‘१५’, त्यसको तल रुखको चुनाव चिह्न तथा सबैभन्दा मुनि ‘गौरव, गति, गन्तव्य’ उल्लेख गरिएको छ।
लोगोमा कांग्रेसका ७ जना शीर्ष नेताहरूको तस्बिर समेटिएको छ। जसमा पार्टीका संस्थापक नेता बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा रहेका छन्।
कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र विभाजनको पृष्ठभूमिमा देउवाको तस्बिरसमेत पार्टीको आधिकारिक महाधिवेशन लोगोमा समेटिनुलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ।
विशेष महाधिवेशनबाट अपदस्थ भएको दाबी गर्दै देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी गरिरहेको अवस्थामा पार्टीको आधिकारिक लोगोमा उनको तस्बिर राखिनुले कांग्रेसको आन्तरिक राजनीतिक अवस्थाबारे थप बहस सिर्जना गरेको छ।
महाधिवेशनमा पार्टीको आगामी नेतृत्व, संगठनात्मक संरचना तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने कांग्रेसले जनाएको छ।