मरिणको मासु उद्योगमा कार्यरत ८८ विदेशीको भिसा रद्द

1.5k Shares

सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन जियान फुड्स प्रालिको मासु प्रशोधन उद्योगमा काम गरिरहेका ८८ जना विदेशी नागरिकको व्यवसायिक भिसा अध्यागमन विभागले रद्द गरेको छ। उनीहरूमध्ये अधिकांश चिनियाँ नागरिक रहेको विभागले जनाएको छ।

अध्यागमन विभागका अनुसार उनीहरूले नेपालमा व्यवसाय गर्नका लागि लिएको बिजनेस भिसाको उद्देश्यविपरीत श्रम तथा रोजगारीसम्बन्धी काम गरिरहेका थिए। उनीहरू विभिन्न कम्पनीको नाममा बिजनेस भिसा लिएर नेपाल आएको तर मरिणस्थित मासु फ्याक्ट्रीमा काम गरिरहेको भेटिएपछि कारबाही अघि बढाइएको हो।

विभागले भिसा रद्द गर्नुका साथै उनीहरूलाई जरिबाना गरी नेपालबाट निष्कासन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। अध्यागमन नियमअनुसार बिजनेस भिसामा आएका विदेशीले भिसा जारी भएको उद्देश्यबाहेक सामान्य श्रम वा रोजगारीको काम गर्न पाउँदैनन्।

यसैबीच, उद्योग सञ्चालक पक्षले भने फ्याक्ट्री निर्माण तथा सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति भएकाले उनीहरूको श्रम भिसा स्वीकृत गराउन पहल भइरहेको दाबी गरेको छ। कम्पनीले विदेशी प्राविधिक कामदारको अभावमा उद्योग सञ्चालनको काम प्रभावित हुन सक्ने जनाएको छ।

मरिणमा निर्माण भइरहेको यो उद्योगबाट प्रशोधित भैंसीको मासु चीन निर्यात गर्ने योजना छ। परियोजनामा ठूलो विदेशी लगानी रहेको र आगामी समयमै उत्पादन सुरु गर्ने तयारी गरिएको बताइएको छ।

 
 
 
सम्बन्धित समाचार