काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा स्थायी कमिटी गठनका विषयमा छलफल भएको छ। बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य मनोनयनसँगै स्थायी कमिटी र पोलिटब्युरो गठनका विषयमा छलफल गरेको हो।
सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले दिएका सुझावका विषयमा समेत छलफल भएको जनाइएको छ। साथै केन्द्रीय कमिटीमा मनोनीत गरिने सदस्यहरूको नामका विषयमा पनि बैठकमा छलफल गरिएको थियो।
स्थायी कमिटी र पोलिटब्युरो गठनबारे सचिवालयमा छलफल गरेपछि त्यससम्बन्धी निर्णय केन्द्रीय कमिटी बैठकबाट अनुमोदन तथा घोषणा गर्ने तयारी एमालेको छ।
यसै विषयमा छलफल गर्न सचिवालय बैठक लामो समय चलेपछि बिहीबारका लागि तय गरिएको केन्द्रीय कमिटी बैठकसमेत निर्धारित समयमा सुरु हुन सकेको थिएन। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार सचिवालय बैठक नसकिएकाले केन्द्रीय कमिटी बैठकमा ढिलाइ भएको हो।
एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको भैंसेपाटीस्थित एक पार्टी प्यालेसमा सोमबारदेखि जारी छ। बैठकमा केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी तथा पोलिटब्युरो गठनलगायत विषय कार्यसूचीमा रहेका छन्।