सी वासिङ्टन पुग्दा विमानस्थलमै ट्रम्पको भव्य स्वागत

974 Shares

चिनियाँ राष्ट्रपति सी चिनफिङ तीनदिने अमेरिका भ्रमणका क्रममा वासिङ्टन पुगेका छन्। उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानस्थलमै पुगेर विशेष स्वागत गरेका छन्।

सी बुधबार स्थानीय समयअनुसार वासिङ्टन नजिकैको जोइन्ट बेस एन्ड्र्युजमा अवतरण गरेका थिए। सामान्यतया विदेशी नेताको स्वागतका लागि ह्वाइट हाउसमा प्रतीक्षा गर्ने अमेरिकी राष्ट्रपतिको परम्पराभन्दा फरक रूपमा ट्रम्प आफैं विमानस्थल पुगेका हुन्। ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प पनि उपस्थित थिइन्।

सी र उनकी पत्नी पेङ लियुआन विमानबाट ओर्लिएपछि ट्रम्प दम्पतीले उनीहरूलाई हात मिलाएर स्वागत गरे। विमानको सिँढीदेखि करिब ३० मिटर लामो रातो कार्पेट बिछ्याइएको थियो। दुवैतर्फ सम्मान गार्ड राखिएको थियो। स्वागत समारोहमा दुई देशका राष्ट्रिय धुन बजाइएको थियो भने सैन्य विमानले आकाशमा प्रदर्शनसमेत गरेका थिए।

सीको स्वागतका क्रममा अमेरिकी बालबालिकाले उनलाई र पेङलाई फूलसमेत दिएका थिए। समारोहमा २१ सदस्यीय सम्मान गार्ड, दुवै देशका झन्डा तथा सैन्य ब्यान्डको प्रस्तुति रहेको थियो।

अमेरिका भ्रमणका क्रममा सी र ट्रम्पबीच व्यापार, कृत्रिम बौद्धिकता (एआई), दुर्लभ खनिज, ताइवान तथा अन्य द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यसअघि दुई देशले व्यापारसम्बन्धी अस्थायी सहमति जनवरीसम्म लम्ब्याउने घोषणा गरेका छन्।

सीले अमेरिका पुगेपछि जारी गरेको लिखित वक्तव्यमा चीन र अमेरिका प्रतिस्पर्धीभन्दा साझेदार बन्नुपर्ने बताएका छन्। उनले दुई देशबीच स्थिर र रचनात्मक सम्बन्ध कायम गर्दै सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

सीको तीनदिने भ्रमणका क्रममा ह्वाइट हाउसमा औपचारिक स्वागत समारोह, सैन्य सम्मान र राज्य भोजलगायत कार्यक्रम हुनेछन्। भ्रमणको अन्तिम दिन सी र पेङले ट्रम्प दम्पतीसँग निजी चिया भेट गर्ने तथा वासिङ्टनस्थित नेसनल आर्काइभ्सको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार