च्यासलमा एमाले सचिवालय बैठक, नेताको जिम्मेवारी र विभाग टुंग्याउने तयारी

1.2k Shares

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ। बैठकमा नेताहरूको कार्यविभाजन, विभिन्न विभागलाई पूर्णता दिने तथा पार्टीका विभिन्न कमिटीमा सहइन्चार्ज तोक्नेलगायत विषयमा छलफल हुने भएको छ।

एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव सचिवालयबाट पारित गरी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने तयारी छ। ११औँ महाधिवेशनपछि केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजन पूर्ण रूपमा हुन सकेको थिएन।

बैठकले स्थायी कमिटी र पोलिटब्युरो सदस्यको टुंगो लगाउने तथा विभिन्न विभागलाई पूर्णता दिने विषयमा पनि निर्णय गर्ने जनाइएको छ। साथै भौगोलिक तथा गैरभौगोलिक कमिटीमा सहइन्चार्ज तोक्ने विषय पनि कार्यसूचीमा रहेको छ।

यसैबीच, एमालेको केन्द्रीय कमिटी बैठक पनि बिहीबार दिउँसो १२ः३० बजेदेखि जारी रहनेछ। केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल गर्ने क्रम जारी रहने एमालेले जनाएको छ।

 
 
 
सम्बन्धित समाचार