संसदमा सांसदको उपस्थिति बढाउन रास्वपाले बनायो समूहगत तालिका

974 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूको नियमित र प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत उपस्थिति तालिका सार्वजनिक गरेको छ।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सूचना जारी गर्दै व्यावहारिक परिस्थितिलाई ध्यानमा राखेर शून्य समय तथा समूहका आधारमा न्यूनतम उपस्थिति तालिका निर्धारण गरिएको जानकारी दिएका छन्।

तालिकाअनुसार असोज ८ गते समूह ३, ४ र १ का सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ। असोज १२ गते समूह १ र २, असोज १३ गते समूह २ र ३, असोज १४ गते समूह ३ र ४, असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसदको उपस्थिति अनिवार्य गरिएको छ।

तोकिएको दिन सम्बन्धित समूहका सांसदलाई बैठक सुरु भएदेखि अन्त्यसम्म उपस्थित भई छलफलमा सक्रिय सहभागी हुन निर्देशन दिइएको छ। अन्य समूहका सांसदलाई भने संसद् बैठकमा आउन अनिवार्य छैन भन्ने अर्थ नलिन पनि रास्वपाले स्पष्ट पारेको छ। विशेष अवस्थाबाहेक संसद् बैठक सबै सांसदका लागि बाध्यकारी हुने सूचनामा उल्लेख छ।

बैठकका क्रममा छलफल प्रभावित नहुने गरी खाजा वा अन्य आवश्यक कामका लागि पालैपालो समय मिलाउन पनि सांसदहरूलाई भनिएको छ। कुनै प्रस्ताव वा विधेयक निर्णयार्थ प्रस्तुत हुने समयमा भने तोकिएका सबै सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्ने रास्वपाले जनाएको छ।

तालिका:

  • असोज ८ : समूह ३, ४ र १
  • असोज १२ : समूह १ र २
  • असोज १३ : समूह २ र ३
  • असोज १४ : समूह ३ र ४
  • असोज १५ : समूह ४ र १
  • असोज १६ : समूह १ र २
सम्बन्धित समाचार