जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसालौँ, सुरक्षित भूगोल पहिचान गरौँ : नेपाल

967 Shares

नुवाकोट । भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन नुवाकोट पुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाढी प्रभावितको पुनःस्थापना सुरक्षित स्थानमा गर्नुपर्ने बताएका छन्।

धादिङको गल्छीदेखि नुवाकोटको त्रिशूली बजारसम्म बाढीबाट भएको क्षतिको स्थलगत अवलोकनपछि उनले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्नुभन्दा सुरक्षित भूगोल पहिचान गरी प्रभावितलाई व्यवस्थित रूपमा पुनःस्थापना गर्न सरकारको ध्यान जानुपर्ने बताए।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजकसमेत रहेका नेपालले जलवायु तथा मौसम परिवर्तनका कारण विपद्का घटना बढ्दै गइरहेकाले आगामी दिनमा अझ ठूलो विपद् आउन सक्ने भन्दै पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले बाढीबाट क्षति पुगेका क्षेत्रलाई जोखिमयुक्त भूगोलका रूपमा पहिचान गरी सार्वजनिक प्रयोजनमा कायम राख्नुपर्ने धारणा राखे।

‘बाढीले क्षति पुर्‍याएका क्षेत्रलाई जोखिमयुक्त भूगोलका रूपमा पहिचान गरी सार्वजनिक प्रयोजनमा कायम राख्नुपर्छ र प्रभावितलाई सुरक्षित स्थानमा व्यवस्थित नयाँ बस्ती निर्माण गरी पुनःस्थापना गर्नुपर्छ,’ उनले भने।

बाढीबाट क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि पूर्वप्रधानमन्त्री नेपाल विदुर नगरपालिकाको कार्यालयमा आयोजित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाबीचको अन्तरक्रियामा सहभागी भएका थिए।

अन्तरक्रियाका क्रममा उनले बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार, राहत वितरण तथा प्रभावितको व्यवस्थापनका विषयमा जानकारी लिए।

नेपालले विपद्पछि खोज, उद्धार तथा प्रभावितको व्यवस्थापनमा स्थानीय तहसहित विभिन्न निकायबाट भएका प्रयासको प्रशंसा गरे। उनले प्रभावितलाई तत्कालका लागि अस्थायी आवास तथा दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था छिटो र सहज ढङ्गले गर्न सुझाव दिए।

उनले भविष्यमा सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि जोखिमयुक्त बस्तीको पहिचान, सुरक्षित स्थानको व्यवस्थापन तथा पूर्वतयारीमा ध्यान दिनुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार