ओलीको बचाउमा सूर्य थापा : ‘ओलीबिनाको एमाले किमार्थ सम्भव छैन’

897 Shares

काठमाडौं । ने.क.पा. (एमाले) का नेता सूर्य थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय गन्तव्य निर्धारण गर्ने सूत्रधार भएको बताएका छन्।

सामाजिक सञ्जालमा लामो धारणा सार्वजनिक गर्दै थापाले ओलीमाथि लाग्ने घमण्डी, अहंकारी, दम्भी र एकल निर्णय गर्ने नेताको आरोपको प्रतिवाद गरेका छन्। उनले ओलीको राजनीतिक जीवन, नेतृत्व र सरकार सञ्चालनका क्रममा भएका विभिन्न कामलाई उल्लेख गर्दै उनको नेतृत्वको बचाउ गरेका हुन्।

थापाले ओलीलाई राष्ट्रवादी छवि भएका नेता भन्दै भारतीय नाकाबन्दीका बेला लिएको अडान, चीनतर्फ पारवहन नाका खोल्ने पहल तथा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन र संविधान संशोधनमार्फत निशान छापमा समावेश गर्ने कामको नेतृत्व गरेको दाबी गरेका छन्।

उनका अनुसार ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई कठिन अवस्थाबाट अघि बढाउँदै पार्टीलाई सफलताको शिखरसम्म पुर्‍याउन नेतृत्वदायी भूमिका खेलेका छन्।

थापाले ओली नेतृत्वमा धरहरा, रानीपोखरी र काष्ठमण्डप पुनर्निर्माण, भूकम्प तथा विपद् प्रभावितका घर निर्माण र सुरुङमार्ग निर्माणको सुरुवातलगायत विकासका काम भएको दाबी गरेका छन्। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई ओलीले अघि सारेको राष्ट्रिय गन्तव्यका रूपमा व्याख्या गरेका छन्।

ओलीको अभिव्यक्ति शैलीबारे हुने आलोचनाको पनि थापाले प्रतिवाद गरेका छन्। ओलीले स्पष्ट, दृढ र मौलिक शैलीमा आफ्ना धारणा राख्ने गरेको भन्दै उनका कतिपय अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरेर आलोचना गर्ने गरिएको उनको भनाइ छ।

यद्यपि थापाले ओलीका कमजोरी भने हुन सक्ने स्वीकार गरेका छन्। तर गलत र भ्रान्त धारणाबाट प्रभावित भएर उनले उल्लेखनीय गल्ती नगरेको दाबी गरेका छन्। ओलीले व्यक्तिगत स्वार्थका लागि पार्टीलाई विश्वासघात नगरेको र आफ्नो तथा श्रीमतीको स्वआर्जित निजी सम्पत्तिसमेत राष्ट्रलाई सुम्पिएको उनको दाबी छ।

पार्टीभित्र नेतृत्व हस्तान्तरणबारे उठिरहेका प्रश्नतर्फ संकेत गर्दै थापाले ओलीलाई तत्काल हटाउनुपर्ने धारणाको पनि विरोध गरेका छन्। उनका अनुसार ओलीको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै राजनीतिक रूपमा सहज वातावरण बनाएर भविष्यमा योजनाबद्ध रूपमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने वातावरण तयार गर्नु उपयुक्त हुन्छ।

एमाले केन्द्रीय कमिटीको पछिल्लो बैठकको प्रसंग उल्लेख गर्दै थापाले तीन दिनको छलफलपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको बताएका छन्। उनले यसलाई ओली नेतृत्वप्रति पार्टीभित्रको स्वीकार्यताको प्रमाणका रूपमा व्याख्या गरेका छन्।

थापाले अन्त्यमा ओलीबिनाको एमाले सम्भव नभएको दाबीसमेत गरेका छन्। ‘ओलीबिनाको एमाले किमार्थ पनि सम्भव छैन’ भन्दै उनले पार्टी अध्यक्ष ओलीको नेतृत्व र भूमिकालाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन्।

सम्बन्धित समाचार