ललितपुर । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।
ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा जारी बैठकमा अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेका धारणा, सुझाव र प्रश्नका सम्बन्धमा स्पष्ट पारेपछि प्रतिवेदन पारित गरिएको हो।
बैठकमा पार्टी सचिवालयका सदस्यसहित केन्द्रीय कमिटीका सदस्यहरूले प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए। उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव तथा विभिन्न आयोगका अध्यक्षसहित ठूलो संख्यामा केन्द्रीय सदस्यहरूले छलफलमा सहभागिता जनाएका थिए।
बैठकमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतलगायतले धारणा राखेका थिए।
त्यस्तै, परशुराम बस्नेत, पार्वत गुरुङ, प्रदीप ज्ञवाली, भगवती चौधरी, भीष्म अधिकारी, माधव ढुङ्गेल, राजीव पहारी, राजेन्द्र गौतम, रामकुमारी झाँक्री, सूर्य थापा, सुहाङ नेम्वाङ, महेश बर्तौला, घनश्याम खतिवडा, नवराज शर्मा, राधाकृष्ण कँडेल र नारायण सिलवाललगायत केन्द्रीय सदस्यले पनि बैठकमा धारणा राखेका थिए।
केन्द्रीय सदस्यहरूले उठाएका विषय तथा सुझावमाथि अध्यक्ष ओलीले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पारित गरिएको एमालेले जनाएको छ।
यसैबीच एमाले केन्द्रीय कमिटीको बैठक बिहीबार दिउँसो १२ः३० बजे पुनः भनिमण्डलस्थित रामबाग भवनमा बस्ने भएको छ। बैठकअघि पार्टी केन्द्रीय सचिवालयको बैठक बिहान १० बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ।