काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पालिका तहको अधिवेशन भइरहेको छ। अधिवेशनमा उम्मेदवारी दिएका उम्मेदवार, प्रस्तावक, समर्थक, प्रतिनिधि तथा प्रचारकले निर्वाचन समितिले जारी गरेको आचारसंहिता अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन निर्देशिकाले निर्वाचन प्रचारलाई मर्यादित र व्यवस्थित बनाउन विभिन्न गतिविधिमा रोक लगाएको छ। निर्देशिकाअनुसार उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य, शिष्ट र अनुशासित व्यवहार गर्नुपर्नेछ।
अन्य उम्मेदवार, प्रतिनिधि वा कार्यकर्ताको मान–सम्मानमा आँच पुग्ने गतिविधि गर्न पाइने छैन। सार्वजनिक स्थलमा होहल्ला गर्ने, अव्यवस्थित भीड जम्मा गर्ने, यातायात अवरोध गर्ने वा सार्वजनिक शान्ति भंग हुने गतिविधिमाथि पनि रोक लगाइएको छ।
निर्वाचन आचारसंहिताले उम्मेदवार वा समर्थकले उम्मेदवारको फोटो, नाम वा चुनाव चिह्न अंकित टोपी, क्याप, भेस्ट, टी–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेटलगायत प्रचार सामग्री प्रयोग गर्न रोक लगाएको छ।
तर उम्मेदवारले आफ्नो उम्मेदवारी र आफूले उम्मेदवारी दिएको पदबारे सामान्य जानकारी दिने पर्चा–पम्प्लेट वितरण गर्न पाउनेछन्। सार्वजनिक संरचनामा प्रचार सामग्री टाँस्ने वा लेख्ने तथा सवारीसाधन प्रयोग गरी जुलुस वा र्याली आयोजना गर्न भने पाइने छैन।
निर्देशिकाले निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएको छ। ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति वा कुनै वर्ग, समुदाय तथा समूहको भावना र प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति दिनसमेत पाइने छैन।
जात, धर्म, भाषा, क्षेत्र, सम्प्रदाय वा समुदायका आधारमा मत माग्न तथा मतदातालाई प्रभावित गर्न रोक लगाइएको छ। विभिन्न समूहबीच घृणा, द्वेष वा विभाजन सिर्जना हुने खालका नारा, वक्तव्य वा सामाजिक सञ्जाल सामग्री प्रकाशन तथा प्रसारण गर्न पनि पाइने छैन।
मत प्रभावित गर्ने उद्देश्यले उम्मेदवारले भोजभतेर, पार्टी, मनोरञ्जनात्मक कार्यक्रम वा आतिथ्य आयोजना गर्न तथा नगद, उपहार, जिन्सी सामग्री, कुपन वा अन्य आर्थिक लाभ वितरण गर्न पाउने छैनन्।
महाधिवेशन प्रतिनिधिलाई नगद, सुविधा, नियुक्ति, पद वा अन्य लाभको प्रलोभन दिएर मत प्रभावित गर्न पनि रोक लगाइएको छ।
फेसबुक, एक्स, युट्युब, टिकटक, इन्स्टाग्राम, म्यासेन्जर, भाइबर र ह्वाट्सएपलगायत सामाजिक सञ्जाल प्रयोग गर्दा पनि आचारसंहिता पालना गर्नुपर्नेछ।
अन्य उम्मेदवार वा प्रतिनिधिको प्रतिष्ठामा आँच पुग्ने, घृणा वा द्वेष फैलाउने तथा झुटा वा भ्रामक सूचना सम्प्रेषण गर्न रोक लगाइएको छ। आवाज, तस्वीर वा अभिव्यक्तिलाई तोडमोड गरी वास्तविक नभएको सामग्री बनाउने तथा सम्पादित भिडियो वा अडियोमार्फत मतदातालाई भ्रमित गर्नसमेत पाइने छैन।
कांग्रेस वा उसका भ्रातृ तथा शुभेच्छुक संस्थाका कार्यालय, कर्मचारी, सवारीसाधन, आर्थिक स्रोत वा संस्थागत सम्पत्ति व्यक्तिगत चुनाव प्रचारमा प्रयोग गर्न पाइने छैन। सरकारी निकाय, सार्वजनिक संस्था वा सार्वजनिक स्रोत–साधन प्रयोग गरेर कुनै उम्मेदवारको पक्षमा प्रचार गर्नसमेत रोक लगाइएको छ।
मतदानस्थलमा मोबाइल फोन वा क्यामेराबाट आफूले कसलाई मतदान गरेको देखिने फोटो तथा भिडियो खिच्न र सार्वजनिक गर्न पनि निषेध गरिएको छ।
उपसभापति विश्वप्रकाश शर्माका अनुसार निर्वाचनपछि पर्चा, पम्प्लेट, फ्लेक्सलगायतबाट सिर्जित फोहोरसमेत सम्बन्धित उम्मेदवारले सफा गर्नुपर्नेछ।
निर्वाचन समितिले प्रचार–प्रसार बन्द गर्न तोकेको समयदेखि मतदान सम्पन्न नभएसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रचार, मत माग्ने वा उम्मेदवारको पक्षमा वातावरण बनाउने काम गर्न पाइने छैन।
उम्मेदवारका प्रस्तावक, समर्थक, प्रतिनिधि, प्रचारक तथा स्वयंसेवकले आचारसंहिता उल्लङ्घन गरेको प्रमाणित भए निश्चित अवस्थामा उम्मेदवारसमेत जिम्मेवार हुने व्यवस्था छ।
उल्लङ्घन भए लिखित चेतावनी, प्रचार सामग्री हटाउन निर्देशन, स्पष्टीकरण सोध्ने वा निश्चित समयसम्म निर्वाचन गतिविधिमा प्रतिबन्ध लगाउनेसम्मका कारबाही हुन सक्नेछ।
कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गरेको थियो भने बाँकी रहेका स्थानमा असोज ५ र ६ गते पनि अधिवेशन भएको थियो। पालिका अधिवेशन आज र बाँकी रहेका ठाउँमा बिहीबारसमेत हुने जनाइएको छ।
विभिन्न तहका अधिवेशन सम्पन्न भएपछि कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ।