एमाले बैठकमा प्रदीप ज्ञवाली : पार्टी एकता बलियो बनाऔँ, विचलन रोकौँ

715 Shares

काठमाडौँ । ने.क.पा. (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टीमा देखिएको विचलन रोक्नुपर्ने माग गरेका छन्। तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले पार्टी पुनर्जागरणका लागि एकता आवश्यक रहेको भन्दै पार्टीभित्र थप विचलन ल्याउने प्रयास रोक्नुपर्ने बताएका हुन्।

ज्ञवालीले पार्टी पङ्क्तिमा देखिएको विचलनलाई नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन्। उनले बैठकमा भने, ‘पुनर्जागरणको प्रस्थानविन्दु हाम्रो पार्टीको एकता हो। पार्टी पङ्क्तिमा देखिएको विचलनलाई कन्ट्रोल गर्नुपर्दछ।’

बैठकमा सहभागी नेताहरूका अनुसार ज्ञवालीले अप्ठ्यारो अवस्थामा पार्टी नेतृत्वको विरुद्धमा लाग्नेहरूमाथि कारबाही हुन सक्ने संकेतसमेत गरेका थिए। उनको यस्तो धारणा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई बलियो बनाउने दिशामा आएको नेताहरूको बुझाइ छ।

ज्ञवालीले भने पार्टीभित्रको एकताको कुरा गर्दै विगतको निर्वाचन परिणामलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्नेमा पनि जोड दिएका छन्। उनका अनुसार २१ फागुनमा सम्पन्न निर्वाचनमा एमालेले असामान्य धक्का बेहोरेको छ।

‘२१ फागुनको निर्वाचनमा एमालेले असामान्य धक्का खान पुग्यो,’ ज्ञवालीले बैठकमा भनेका छन्, ‘यो धक्काको सामना कुनै एक नेता विशेषले होइन, सामूहिक चुनौतीको रूपमा लिनुपर्दछ।’

ज्ञवाली पछिल्लो समय अध्यक्ष ओलीसँग निकट देखिएका एमाले नेतामध्ये एक हुन्। गत महाधिवेशनमा ओलीले उनलाई पदाधिकारीमा समेटेका थिएनन्। तर पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनलाई लिएर विवाद बढेपछि ओलीले ज्ञवालीमाथि विश्वास गरेका थिए।

त्यसक्रममा ज्ञवालीले अध्यक्ष ओलीको धारणा अनुकूल हुने गरी पुनर्गठनसम्बन्धी प्रतिवेदन तयार गरेको एमाले नेताहरू बताउँछन्। अहिले केन्द्रीय कमिटी बैठकमा उनले पार्टीभित्र एकता कायम राख्नुपर्ने र नेतृत्वविरुद्ध हुने गतिविधि रोक्नुपर्ने धारणा राखेका हुन्।

सम्बन्धित समाचार