जलवायु परिवर्तनका असर न्यूनीकरणसँगै न्यायको प्रश्न सम्बोधन गर्नुपर्छ : मल्ल

652 Shares

काठमाडौं । जलवायु संकटलाई केवल विपद् व्यवस्थापनको विषयका रूपमा हेर्न नहुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख रमेश मल्लले बताएका छन् ।

उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली तथा विकासोन्मुख मुलुकले भोगिरहेका असरलाई जलवायु न्यायको दृष्टिकोणबाट समेत सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

मल्लका अनुसार जलवायु परिवर्तनमा नेपालको योगदान निकै न्यून भए पनि यसको असर भने प्रत्यक्ष रूपमा भोग्नुपरेको छ । हिमाली क्षेत्रमा हिमताल विस्फोट, बाढी, पहिरो, अतिवृष्टि तथा अन्य प्राकृतिक विपद्का घटना बढ्दै जाँदा जनधनसँगै पूर्वाधार र अर्थतन्त्रमा समेत ठूलो क्षति भइरहेको उनको भनाइ छ ।

उनले जलवायुजन्य विपद्का कारण प्रभावित समुदायको संरक्षण, पुनर्स्थापना र पुनर्निर्माणसँगै क्षतिको उचित सम्बोधन आवश्यक रहेको बताए ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनबाट सिर्जित जोखिम र क्षतिको विषयलाई प्रभावकारी रूपमा उठाउनुपर्ने उल्लेख गर्दै मल्लले जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासमा विकसित मुलुकको सहयोग आवश्यक रहेको बताए ।

उनका अनुसार विपद् आउनुअघि जोखिम पहिचान, पूर्वसूचना प्रणालीको विकास, सुरक्षित पूर्वाधार निर्माण तथा स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्न सके जलवायुजन्य विपद्को प्रभाव घटाउन सकिन्छ ।

मल्लले जलवायु संकटलाई दीर्घकालीन रूपमा सम्बोधन गर्न सरकार, स्थानीय तह, निजी क्षेत्र, विज्ञ तथा समुदायबीच समन्वय आवश्यक रहेको बताए । जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित समुदायलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने उनको भनाइ छ।

सम्बन्धित समाचार