काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा थप सैन्य कारबाही अघि बढाउने विषयमा आफू ‘ठूलो निर्णय’को मोडमा रहेको बताएका छन्।
न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई मंगलबार सम्बोधन गर्दै ट्रम्पले सम्झौता हुन नसके इरानविरुद्ध थप कडा कदम चाल्ने चेतावनी दिएका हुन्। उनले इरानलाई ‘सखाप’ पार्ने विकल्पसमेत आफूले विचार गरिरहेको बताएका छन्।
ट्रम्पले इरानसँग यस्तो सम्झौता हुन सक्ने बताएका छन्, जसले उसलाई पुनर्निर्माणको अवसर दिनेछ। तर सम्झौता नभए इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने सैन्य विकल्प रोज्ने आशय उनले व्यक्त गरे। उनले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि इरानसँग सम्झौता हुन सक्ने विश्वाससमेत व्यक्त गरेका छन्।
महासभा सम्बोधनका क्रममा इरानी प्रतिनिधिमण्डलका सदस्य पनि उपस्थित थिए। ट्रम्पले आफ्नो सम्बोधनको ठूलो हिस्सा इरानसँगको द्वन्द्व र अमेरिकी सैन्य कारबाहीको बचाउमा खर्चिए। उनले इरानलाई आणविक हतियार विकास गर्न नदिने आफ्नो नीतिलाई दोहोर्याउँदै अन्य देशलाई पनि तेहरानमाथि आर्थिक दबाब बढाउन आग्रह गरे।
ट्रम्पले रुस–युक्रेन युद्धको अन्त्यका लागि पनि आफूले पहल गरिरहेको बताए। उनले अमेरिका र रुस तथा युक्रेनका नेताहरूसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै युद्ध अन्त्य हुने विश्वास व्यक्त गरे।
सम्बोधनमा उनले कृत्रिम बुद्धिमत्ताको विश्वव्यापी नियमनको प्रस्तावप्रति पनि असहमति जनाए। अमेरिकाले एआई क्षेत्रमा आफ्नो नेतृत्व कायम राख्नुपर्ने धारणा राख्दै ट्रम्पले अन्तर्राष्ट्रिय नियन्त्रणको प्रयासलाई अस्वीकार गर्ने संकेत दिए।
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा बढ्दै गएको विभाजन र बहुपक्षीय सहकार्य कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औँल्याएका छन्।
ट्रम्पको महासभा सम्बोधन इरानसँगको लामो समयदेखिको द्वन्द्व, रुस–युक्रेन युद्ध र एआईको भविष्यमा अमेरिकी नीतिलाई केन्द्रमा राखेर आएको थियो। महासभाकै क्रममा अमेरिका र इरानका अधिकारीहरूबीच वार्ताको सम्भावनाबारे कूटनीतिक प्रयाससमेत जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।