प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकमाथि छलफल, पाँच संसदीय समिति पनि बस्दै

918 Shares

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित संसद् भवनमा बिहान ११ बजे बैठक बोलाइएको छ।

बैठकको सुरुवातमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसपछि पूर्वाधार विकासमन्त्री सुनील लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ।

यसैबीच, आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ।

समितिका बैठकमा आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल तथा निर्णय हुने संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार