रसुवामा अधिवेशन रोकियो, देशभर कांग्रेसको पालिका अधिवेशन आज

1.2k Shares

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन गर्न लागिएको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक देशभरका वडामा नेतृत्व चयनको प्रक्रिया सम्पन्न भइसकेको छ। बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।

मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

तर, हालैको विनाशकारी बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको रसुवामा भने पालिका अधिवेशन तत्काल नहुने भएको छ। विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।

नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्। एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव चयन हुने व्यवस्था छ।

कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट सम्बन्धित सभापतिले मनोनयन गर्ने प्रावधान छ।

पालिका तहको नेतृत्व चयनसँगै कांग्रेसले १५औँ महाधिवेशनका लागि आफ्नो स्थानीय तहको सांगठनिक संरचना अघि बढाउनेछ। वडा तहको अधिवेशनपछि हुन लागेको पालिका अधिवेशनलाई पार्टीको तल्लो तहमा नेतृत्व चयनको अर्को महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार