काठमाडौँ । प्रतिनिधिसभाका पछिल्ला बैठकमा सांसदहरूको व्यवहार र भूमिकामाथि सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि सभामुख डीपी अर्यालले संसद् बैठकलाई अनुशासित, व्यवस्थित र मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्।
सभामुख अर्यालले संसद्को कार्यसम्पादनलाई मर्यादित र उत्कृष्ट बनाउने जिम्मेवारी कुनै एक पक्षको मात्र नभई सबै सांसदको साझा कर्तव्य भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै दल तथा सांसदहरूको सर्वसम्मत पहलमा ‘प्रतिनिधिसभा नियमावली, २०८०’ जारी गरी लागू गरिएको स्मरण गराउँदै उनले नियमावलीको पालना गर्न सबै सदस्यलाई आग्रह गरे।
सभामुख अर्यालले संसद् नियमावलीकै आधारमा सभा सञ्चालन भइरहेको उल्लेख गर्दै सांसदहरूलाई नियमको सीमाभित्र रहेर बैठकमा प्रस्तुत हुन ध्यानाकर्षण गराए।
उनले भने, “संसद् नियमावलीको परिधिभित्र रहेर नै हामीले सभा सञ्चालन गरिरहेका छौँ। म सबै माननीय सदस्यहरूलाई प्रतिनिधिसभा नियमावलीको नियम २० र नियम २१, त्यसमा पनि विशेष गरी नियम २० को खण्ड ‘ट’ प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”
सभामुखको निर्देशनसँगै आगामी बैठकहरूमा सांसदहरूको प्रस्तुति, व्यवहार तथा बैठक सञ्चालनमा थप अनुशासन र मर्यादा कायम हुने अपेक्षा गरिएको छ।