काठमाडौं । राजनीतिक विश्लेषक तथा त्रिमूल नेपाल पार्टीका अध्यक्ष भरत दाहालको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको छ। दाहालकी छोरी डेनिका दाहाल मल्लले सोमबार रिट निवेदन दर्ता गरेकी हुन्।
दाहाललाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनको तत्काल रिहाइको मागसहित रिट दायर गरिएको हो। रिटमा पक्राउ तथा हिरासतमा राख्ने प्रक्रियाको कानुनी आधारमाथि प्रश्न उठाइएको छ।
रिट निवेदनमाथि मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ। दाहालको पक्राउपछि उनको हिरासतको कानुनी अवस्था र पक्राउको आधारबारे अदालतमा प्रश्न उठेको हो।
दाहाल आइतबार पक्राउ परेका थिए। उनको रिहाइको माग गर्दै दर्ता गरिएको रिटमा ‘सत्य र न्यायको खोजी अभियान’का सदस्य सुवास ढकाललगायतको सहयोग रहेको बताइएको छ।
पक्राउको विषयलाई लिएर साइबर कानुन, अभिव्यक्ति स्वतन्त्रता र पक्राउ तथा हिरासतको कानुनी प्रक्रियाबारे समेत बहस भइरहेको छ। अब सर्वोच्च अदालतको प्रारम्भिक सुनुवाइबाट दाहालको हिरासतसम्बन्धी विषयमा के आदेश आउँछ भन्ने चासोका साथ हेरिएको छ।