एमाले बैठकको दोस्रो दिन केन्द्रीय सदस्यहरूले धारणा राख्दै

1k Shares

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आजदेखि केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने भएका छन्। भानिमण्डलस्थित रामवाघ पार्टी प्यालेसमा बिहान ९ बजेदेखि बैठक सुरु भएको हो।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई पार्टी, अध्यक्षको प्रतिवेदन, जनतासँग सम्बन्धित विषय तथा समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्न अधिकतम तीन मिनेटको समय निर्धारण गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्। 

बैठकको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमाथि मंगलबार र बुधबार छलफल गर्ने कार्यतालिका तय गरिएको थियो। 

पहिलो दिनको बैठकमा पार्टीको नेतृत्व, पुनर्संरचना, निर्वाचनमा भएको पराजय तथा आगामी रणनीतिबारे बहस भएको थियो। अध्यक्ष ओलीले भने नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्दै तत्काल आफूले अध्यक्ष पद छाड्ने अवस्था नरहेको धारणा प्रतिवेदनमार्फत स्पष्ट पारेका छन्। 

केन्द्रीय सदस्य कर्णबहादुर थापाले समेत बैठकमा आफ्नो असहमतिको दस्तावेजमाथि छलफल हुनुपर्ने माग गरेका छन्। उनले पार्टी नेतृत्वमा दुई कार्यकालको सीमा र ७० वर्षको उमेर हद कायम राख्नुपर्ने विषय उठाएका छन्। 

आजको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रमसँगै केन्द्रीय सदस्य मनोनयन, विभाग गठन, पोलिटब्युरो तथा स्थायी कमिटी गठनलगायतका एजेन्डामा पनि प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ। त्यस्तै सल्लाहकार परिषद्, वरिष्ठ कम्युनिस्ट मञ्च र अनुशासनसम्बन्धी विषयमा समेत छलफल हुने कार्यतालिका छ।

बैठकमा प्रस्तुत नौ एजेन्डामध्ये आठ एजेन्डामा आजदेखि काम अघि बढाउने तयारी गरिएको छ। नेताहरूलाई जिम्मेवारी बाँडफाँट भने बुधबारदेखि अघि बढाउने तयारी रहेको एमाले स्रोतले जनाएको छ। 

 
 
सम्बन्धित समाचार