काठमाडौं । संघीय संसदअन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल हुनेछ । यस्तै, विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने संशोधनकर्ता सदस्यहरूसँग पनि छलफल गर्ने कार्यसूची रहेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान सवा ११ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा लगानी प्रवर्धनसम्बन्धी विषयमा छलफल हुनेछ ।
समितिले स्वदेशी तथा वैदेशिक एवं निजी तथा सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभावबारे छलफल गर्नेछ । साथै राष्ट्रिय तथा प्रादेशिकस्तरमा आयोजना गरिने लगानी सम्मेलनको व्यवस्थापन तथा उपयुक्त लगानी वातावरण निर्माण गर्न आवश्यक नीतिगत र कानुनी सुधारका विषयमा पनि छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक भने बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पुस्तकालय नीतिको मस्यौदाका सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यसरी आज बस्ने चारवटै समितिका बैठकमा विधेयक, लगानी प्रवर्धन, जलवायु परिवर्तन तथा पुस्तकालय नीतिजस्ता विषयमा छलफल हुने भएको छ ।