पर्वतीय मुलुकका साझा समस्या लिएर अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्ने नेपाल–भुटान प्रतिबद्धता

1.4k Shares

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपाल र भुटानबीच रहँदै आएको सुमधुर द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुवै नेताबीच विचार आदानप्रदान भएको छ ।

त्यसैगरी, पर्वतीय मुलुकहरूले सामना गरिरहेको जलवायु परिवर्तनको जोखिम, बढ्दो प्राकृतिक विपद् तथा त्यसबाट उत्पन्न गम्भीर असरका विषयमा पनि छलफल भएको थियो ।

भेटमा नेपाल र भुटान समान भौगोलिक विशेषता भएका हिमाली तथा पर्वतीय राष्ट्र भएकाले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा सहकार्यलाई अझ मजबुत र प्रभावकारी बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका छन् ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम, बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएकाले यस्ता साझा समस्यालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा उठाउन नेपाल र भुटानबीच सहकार्य आवश्यक रहेको भेटका क्रममा जोड दिइएको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने क्रममा भएको भेटवार्तालाई नेपाल–भुटानबीचका साझा चासो र प्राथमिकताका विषयमा सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ ।

सम्बन्धित समाचार