काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गरिएको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा ग्यास वितरणमा देखिएको समस्याबारे जानकारी दिँदै मन्त्री साहले उपभोक्ताका गुनासा सम्बोधन तथा आपूर्ति व्यवस्थामा सहजीकरण गर्न छुट्टै टोली परिचालन गरिएको बताए। उनका अनुसार पछिल्लो समय देखिएको ग्यास अभाव क्रमशः हट्दै जानेछ।
मन्त्री साहले ग्यास अभावका पछाडि विभिन्न कारण रहेको मन्त्रालयको निष्कर्ष रहेको जानकारी दिए। उनका अनुसार ग्यासको आयातमा निर्भरता, अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङको समस्या, डिलरहरूबाट हुने असमान वितरण र खाली सिलिन्डर फिर्तामा हुने ढिलाइका कारण आपूर्ति प्रभावित भएको हो।
त्यस्तै, कालोबजारी, डिजिटल ट्र्याकिङ प्रणालीको अभाव तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुन नसक्दा पनि समस्या थपिएको मन्त्रालयको निष्कर्ष रहेको उनले बताए।
चाडपर्वका बेला ग्यासको माग बढ्ने भएकाले आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले भारत सरकारसँग औपचारिक रूपमा पत्राचार गरेको मन्त्री साहले जानकारी दिए। उनका अनुसार आगामी तीन महिनासम्म प्रतिमहिना ६० हजार मेट्रिक टन ग्यास उपलब्ध गराउन भारतसँग आग्रह गरिएको छ।
मन्त्री साहले बढ्दो मागलाई सम्बोधन गर्न नियमित आपूर्ति कायम राख्ने र वितरण प्रणालीमा देखिएका समस्या समाधान गर्ने गरी सरकारले काम गरिरहेको बताए।
मन्त्री साहले ग्यासको आपूर्ति व्यवस्थालाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउन मन्त्रालयभित्र आन्तरिक समिति गठन गरी आवश्यक मार्गनिर्देशन तयार गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
उनका अनुसार ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्ने मात्रै नभई दीर्घकालीन आपूर्ति व्यवस्थापन, पूर्वाधार विकास तथा वैकल्पिक समाधानका लागि नीतिगत योजना आवश्यक देखिएको छ।
यसका लागि आवश्यक नीतिगत योजना निर्माण गर्न राष्ट्रिय योजना आयोगलाई समेत औपचारिक रूपमा पत्राचार गरिएको उनले बताए।
सरकारले तत्कालका लागि आपूर्ति र वितरणमा देखिएको समस्या समाधान गर्न ‘क्विक रेस्पोन्स टिम’ परिचालन गर्नुका साथै दीर्घकालीन रूपमा भण्डारण, रिफिलिङ, वितरण प्रणाली तथा डिजिटल अनुगमनलाई व्यवस्थित गर्ने तयारी गरेको छ।
चाडपर्व नजिकिँदै गर्दा ग्यासको माग थप बढ्ने भएकाले बजारमा नियमित आपूर्ति कायम राख्नु सरकारका लागि चुनौती बनेको छ। सरकारले भारतबाट थप ग्यास ल्याउने व्यवस्था तथा वितरण प्रणालीमा सुधारमार्फत उपभोक्ताले सहज रूपमा ग्यास पाउने अवस्था बनाउने जनाएको छ।