काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन्। तर जिम्मेवारी लिएर पार्टी नेतृत्वबाट भाग्ने पक्षमा आफू नरहेको उनको भनाइ छ।
एमाले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत आफ्नो प्रतिवेदनमा ओलीले निर्वाचनमा पार्टीले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको विषयमा नेतृत्वको हैसियतले आफूले नैतिक जिम्मेवारी लिनुपर्ने उल्लेख गरेका छन्।
उनले निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनका कारण पहिचान गरी त्यसबाट पाठ सिक्दै संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। निर्वाचनको परिणामलाई आधार बनाएर पार्टीभित्र नेतृत्व र संगठनसम्बन्धी विषयमा विभिन्न प्रश्न उठिरहेका बेला ओलीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
यसअघि एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्संरचना कार्यदलमा पनि पार्टीको निर्वाचन पराजय, नेतृत्वको कार्यशैली र संगठनात्मक अवस्थाबारे फरक–फरक धारणा प्रस्तुत भएका थिए। महासचिव शंकर पोखरेलको प्रतिवेदनमा ओलीले निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पदबाट हट्नुपर्ने प्रस्ताव गरिएको थियो। अर्कोतर्फ, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको प्रतिवेदनले तत्काल अध्यक्षलाई हटाउन आवश्यक नरहेको निष्कर्ष अघि सारेको थियो।
कार्यदलले दुईवटा प्रतिवेदन तथा प्रदेश र अन्य तहबाट प्राप्त सुझावलाई समेटेर एकीकृत प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदनमा तत्काल नेतृत्व परिवर्तनलाई मुख्य एजेन्डा नबनाउने सहमति भएको एमाले नेताहरूले बताएका छन्।
केन्द्रीय कमिटी बैठकमा भने निर्वाचन समीक्षा, पार्टी पुनर्संरचना, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल भइरहेको छ। ओलीले पार्टीभित्र उठेका प्रश्न र आलोचनालाई सम्बोधन गर्दै संगठनलाई अघि बढाउने विषयमा समेत आफ्नो धारणा राखेका छन्।
निर्वाचनमा भएको पराजयको जिम्मेवारी स्वीकार गर्ने तर त्यसबाट पछि नहट्ने ओलीको भनाइसँगै एमाले बैठकमा नेतृत्व, संगठन र आगामी कार्यदिशाबारेको छलफल थप केन्द्रित भएको छ।