राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ, युट्युबमा ‘भ्रामक सामग्री’ प्रसारण गरेको आरोप

1.1k Shares

काठमाडौँ । राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाललाई प्रहरीले साइबर अपराधसम्बन्धी कसुरमा मोरङबाट पक्राउ गरेको छ।

साइबर ब्यूरोको अनुरोध तथा काठमाडौं जिल्ला अदालतबाट प्राप्त पक्राउ अनुमतिका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आइतबार बिहान उनलाई सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित चिया पसलबाट नियन्त्रणमा लिएको हो। पक्राउपछि दाहाललाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका अनुसार दाहालविरुद्ध मोरङमा छुट्टै उजुरी परेको छैन। साइबर ब्यूरोमा परेको उजुरीका आधारमा अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको हो। साइबर ब्यूरोका प्रहरी उपरीक्षक दिलीप गिरीका अनुसार दाहालले आफ्नै युट्युब च्यानलमार्फत विभिन्न समसामयिक राजनीतिक, भूराजनीतिक तथा राजनीतिक व्यक्तित्वसँग सम्बन्धित तथ्यहीन वा भ्रामक सामग्री प्रसारण गरेको आरोपमा अनुसन्धान अघि बढाइएको हो।

दाहाल असोज २ गते राजनीतिक छलफलका लागि पूर्वी नेपाल पुगेका थिए। त्यसक्रममा उनी सुन्दरहरैँचास्थित चिया पसलमा छलफल गरिरहेका बेला पक्राउ परेका हुन्। उनलाई आइतबार नै काठमाडौं ल्याएर कानुनी प्रक्रिया अघि बढाउने प्रहरीको भनाइ छ।

के विषयमा थियो दाहालको भिडियो ?

दाहालले सञ्चालन गर्ने युट्युब च्यानलमा पछिल्लो समय नेपालको समसामयिक राजनीति, सरकार तथा नयाँ राजनीतिक नेतृत्वसँग सम्बन्धित विभिन्न सामग्री सार्वजनिक हुँदै आएका थिए।

प्रहरीमा परेको उजुरीसँग सम्बन्धित सामग्रीमध्ये दाहालले ‘कन्सोर्टियम फर इलेक्सन्स एन्ड पोलिटिकल प्रोसेस स्ट्रेन्थेनिङ’ (सीईपीपीएस) र गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित संस्था ‘हामी नेपाल’बीच सम्बन्ध रहेको दाबी गरेको भिडियोसमेत रहेको बताइएको छ। उनले २०८२ भदौमा भएको जेनजी आन्दोलनअघि उक्त संस्थाले तालिम तथा नीति संवाद कार्यक्रम सञ्चालन गरेको र त्यसले आन्दोलनलाई प्रभावित पार्न भूमिका खेलेको दाबी गरेका थिए।

उक्त भिडियोमा दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ तथा सांसदहरू सागर ढकाल र रञ्जु दर्शनालगायतका विषयमा पनि टिप्पणी गरेका छन्।

त्यसैगरी उनले अमेरिकी अनलाइन सञ्चारमाध्यम ‘द ग्रेजोन’मा प्रकाशित नेपालसम्बन्धी सामग्रीलाई आधार बनाएर पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो व्याख्या तथा दाबी प्रस्तुत गरेका थिए। केही सञ्चारमाध्यमले दाहालको पक्राउलाई उक्त सामग्री तथा त्यसमा गरिएको व्याख्यासँग समेत जोडेर रिपोर्ट गरेका छन्।

प्रहरीले भने अनुसन्धानका क्रममा कुन–कुन सामग्री र अभिव्यक्तिलाई विद्युतीय अपराधसम्बन्धी कसुर मानिएको हो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन। साइबर ब्यूरोले उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

दाहाललाई काठमाडौं ल्याइसकिएको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया साइबर ब्यूरोबाट अघि बढाइने प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार