काठमाडौँ — सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन्।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सोमबार भएको भेटमा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल पूरा गरेकोमा श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे।
सभामुख अर्यालले श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताए। उनले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा पनि विभिन्न माध्यमबाट थप मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिए।
भेटका क्रममा पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी विपद्का क्रममा भारत सरकारले उपलब्ध गराएको उद्धार तथा राहत सहयोगप्रति सभामुख अर्यालले विशेष आभार व्यक्त गरे।
भारतीय वायुसेनाका विमानमार्फत राहत तथा उद्धार सामग्री नेपाल ल्याइनुका साथै सुरुङ उद्धारका लागि विशेषज्ञ टोली र फरेन्सिक विज्ञसहितको प्राविधिक सहयोग उपलब्ध गराइएको स्मरण गर्दै उनले विपद्को कठिन समयमा प्राप्त सहयोगले नेपाल–भारतबीच रहेको मैत्री, सद्भाव, ऐक्यबद्धता र सहकार्यलाई प्रतिबिम्बित गरेको बताए।
भेटमा नयाँ प्रतिनिधिसभा गठनपछि बनेको नेपाल–भारत संसदीय मैत्री समूह तथा त्यसमार्फत अघि बढाउन सकिने अन्तरसंसदीय सहकार्यका विषयमा पनि छलफल भएको थियो। नेपाल–भारत संसदीय सम्बन्धलाई थप प्रभावकारी बनाउन संसदीय कूटनीतिको भूमिका महत्वपूर्ण हुने विषयमा दुवै पक्षले जोड दिएका थिए।
सभामुख अर्यालले संसदीय कूटनीतिले दुई देशका सांसदबीच आपसी समझदारी, अनुभव आदानप्रदान र सहकार्य विस्तार गर्न सहयोग पुर्याउने बताए। उनले भारतीय संसद्लाई लोकतन्त्रको सुदृढ संस्थाका रूपमा नेपालले उच्च सम्मानका साथ हेर्दै आएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यास, संसदीय अनुभव तथा असल अभ्यासको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
यसअघि पनि सभामुख अर्याल र राजदूत श्रीवास्तवबीचको भेटमा द्विपक्षीय सम्बन्धसँगै कनेक्टिभिटी र संसदीय सहकार्यका विषयमा छलफल भएको थियो।
भेटमा राजदूत श्रीवास्तवले रसुवामा भएको क्षति अकल्पनीय रहेको बताएका थिए। उनले भारतले राहत तथा उद्धार कार्यमा निरन्तर सहयोग गरिरहेको जानकारी दिँदै सङ्कटको घडीमा भारत सधैँ नेपालको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
नेपाल–भारतबीच व्यापार, ऊर्जा, कनेक्टिभिटी, शिक्षा तथा जनस्तरको सम्बन्धसँगै संसदीय कूटनीतिलाई पनि थप विस्तार गर्ने विषय पछिल्ला भेटवार्तामा उठ्दै आएको छ।