काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सिंहदरबार परिसरमा सञ्चालन भइरहेका क्यान्टिन तथा खाजा पसलको संख्या र त्यहाँको मूल्यप्रति प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले सिंहदरबारका बरन्डासमेत क्यान्टिन तथा खाजा बिक्री गर्ने ठाउँका रूपमा प्रयोग भइरहेको भन्दै आपत्ति जनाएका हुन्।
उनले सिंहदरबारको बरन्डामा राखिएको ‘फाइभ स्टार होटल’ कसको अनुमति र निर्णयमा सञ्चालन भइरहेको हो भन्ने प्रश्न गरे। उनका अनुसार त्यहाँ सामान्य खाजासमेत महँगो मूल्यमा बिक्री भइरहेको छ।
सांसद सुनारले कालो चियाको एक सय रुपैयाँ, दूध चियाको दुई सय रुपैयाँ, ममको तीन सय रुपैयाँ, चाउमिनको चार सय रुपैयाँ र पाउरोटीको पाँच सय रुपैयाँसम्म पर्ने गरेको बताए।
उनले प्रश्न गरे, ‘कालो चियाको एक सय, दूध हालेको चियाको दुई सय, ममको तीन सय, चाउमिनको चार सय, पाउरोटीको पाँच सय रुपैयाँ तिरेर खान सक्ने हैसियतमा अहिलेका सांसदहरू छन् कि छैनन् ?’
सिंहदरबारभित्रै कार्यरत कर्मचारी तथा मर्यादापालकले समेत त्यस्ता महँगा खाजा पसलमा गएर सामान्य पानीसमेत खान सक्ने अवस्था नरहेको उनको दाबी छ।
सांसद सुनारले संसद्को बरन्डाबाट तत्काल त्यस्तो ‘फाइभ स्टार होटल’ हटाउनुपर्ने माग गरे।
‘सिंहदरबारभित्र यति धेरै क्यान्टिन चलाउन पाइँदैन। सुन्धारामा भन्दा धेरै होटलहरू भए,’ उनले भने।
उनले सिंहदरबार परिसरमा रहेका क्यान्टिन तथा खाजा पसलको व्यवस्थापन, संख्या र मूल्य निर्धारणबारे सम्बन्धित निकायले पुनरावलोकन गर्नुपर्ने माग गरेका छन्।