विभागदेखि स्थायी कमिटी गठनसम्म : एमाले बैठकका ९ एजेन्डा

736 Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीको सांगठनिक संरचना, निर्वाचन समीक्षा तथा आगामी राजनीतिक कार्यदिशासहित विभिन्न विषयमा छलफल हुने भएको छ। बैठकका लागि पार्टीले नौवटा मुख्य एजेन्डा तय गरेको छ।

बैठकमा लामो समयदेखि अपूर्ण रहेका पार्टीका केन्द्रीय विभागहरूलाई पूर्णता दिने विषय प्रमुख एजेन्डामा रहेको छ। एमालेका ३३ वटा केन्द्रीय विभागमध्ये लामो समयदेखि पदाधिकारी तथा सदस्यहरू मनोनयन हुन नसक्दा पार्टीको सांगठनिक काम प्रभावित हुँदै आएको छ।

त्यस्तै, एमालेको स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने विषय पनि बैठकको महत्वपूर्ण एजेन्डा बनेको छ। गत मंसिरमा सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी र पदाधिकारी चयन भए पनि त्यसयता स्थायी कमिटी र पोलिटब्युरो गठन हुन सकेको छैन। एमालेको विधानअनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीबाट एकतिहाइ अर्थात् १०० सदस्यीय पोलिटब्युरो तथा त्यसको एकतिहाइ अर्थात् ३३ सदस्यीय स्थायी कमिटी गठन हुने व्यवस्था छ।

बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदनमाथि पनि छलफल हुने भएको छ। सचिवालय बैठकले यसअघि उक्त प्रतिवेदन पारित गरी केन्द्रीय कमिटीमा छलफलका लागि पठाएको थियो।

त्यसैगरी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ। निर्वाचनपछिको पार्टीको अवस्था, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशाबारे बैठकमा व्यापक छलफल हुने तयारी छ।

केन्द्रीय कमिटी बैठकमा विभिन्न कमिटी तथा संरचनामा मनोनयन गर्ने विषयसमेत समेटिएको छ। लामो समयदेखि जिम्मेवारीविहीन रहेका नेता–कार्यकर्तालाई सांगठनिक जिम्मेवारी दिने विषयमा पनि निर्णय हुन सक्ने एमाले नेताहरूले बताएका छन्।

बैठक पहिलोपटक निर्वाचनपछि बस्न लागेकाले पार्टीको संगठनात्मक पुनर्संरचना, विभागहरूको पूर्णता, नेतृत्व संरचना निर्माण र आगामी राजनीतिक रणनीतिलाई विशेष महत्व दिइएको छ। बैठकमा सबै केन्द्रीय सदस्यलाई आफ्नो धारणा राख्ने अवसर दिने तयारीसमेत गरिएको छ।

एमाले सचिवालयले तय गरेका एजेन्डामाथि केन्द्रीय कमिटीमा छलफलपछि आवश्यक निर्णय लिइनेछ। बैठकबाट पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिने र आगामी गतिविधिका लागि स्पष्ट कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार