त्रिविको दीक्षान्त अब प्रदेशमै, विद्यार्थीलाई काठमाडौं आउनुपर्ने बाध्यता हट्यो

988 Shares

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) को दीक्षान्त समारोहमा सहभागी हुन देशभरका विद्यार्थी काठमाडौं आउनुपर्ने बाध्यता हट्ने भएको छ। त्रिवि कार्यकारी परिषद्ले पहिलोपटक प्रदेशस्तरमा दीक्षान्त समारोह आयोजना गर्ने निर्णय गरेसँगै विद्यार्थीले आफूलाई पायक पर्ने प्रदेशबाटै समारोहमा सहभागी हुन पाउने भएका छन्।

त्रिविले आयोजना गर्न लागेको ५२औँ दीक्षान्त समारोहमा १ असार २०८२ देखि ३१ जेठ २०८३ सम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअन्तर्गत स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थी सहभागी हुन पाउनेछन्। सोही अवधिमा विद्यावारिधि (पीएचडी) पूरा गर्ने विद्यार्थी पनि समारोहमा सहभागी हुन योग्य हुनेछन्।

त्रिविले दीक्षान्त समारोहका लागि सातै प्रदेशमा केन्द्र तोकेको छ। बागमती, कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्र निर्धारण गरिएको छ।

तर एमफिल र पीएचडी तहका विद्यार्थी तथा टपर र पदक प्राप्त गर्ने विद्यार्थीका लागि बागमती प्रदेश केन्द्र तोकिएको छ। अन्य विद्यार्थीले आफूलाई पायक पर्ने सातमध्ये कुनै एक केन्द्र छनोट गर्न सक्नेछन्।

फरक–फरक मितिमा दीक्षान्त

यस वर्षको दीक्षान्त समारोह सबै प्रदेशमा एकैपटक आयोजना हुने छैन। प्रदेशअनुसार फरक–फरक मितिमा समारोह सञ्चालन गरिने त्रिविले जनाएको छ।

विद्यार्थीले अनलाइन आवेदन दिने क्रममा आफूलाई पायक पर्ने केन्द्र छनोट गर्न सक्नेछन्। तर एकपटक छनोट गरेको केन्द्र पछि परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ।

त्रिविले पुस मसान्तभित्रै दीक्षान्त समारोह सम्पन्न गर्ने तयारी गरेको छ। यद्यपि त्रिवि सभाले पूर्णता नपाएका कारण यस वर्ष दीक्षित हुने विद्यार्थीको ‘ग्रेस लिस्ट’ अझै पारित हुन सकेको छैन। दीक्षित हुने विद्यार्थीको विवरणसमेत सभाबाट पारित हुन बाँकी रहेको छ।

५२औँ दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीले १ असोज २०८३ देखि १२ कात्तिक २०८३ सम्म अनलाइन आवेदन दिन सक्नेछन्।

आवेदनका क्रममा सेतो पृष्ठभूमिको एमआरपी फोटो, नागरिकताको प्रमाणपत्र तथा आफूले उत्तीर्ण गरेको तहको ट्रान्सक्रिप्ट स्क्यान गरी अनलाइनमार्फत बुझाउनुपर्नेछ।

तहअनुसार शुल्क निर्धारण

त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि तहअनुसार शुल्क निर्धारण गरेको छ। स्नातक तहका विद्यार्थीका लागि दीक्षान्त तथा प्रमाणपत्र शुल्क ३ हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै स्नातकोत्तर तथा एमफिल तहका लागि ३ हजार ५०० रुपैयाँ र विद्यावारिधिका लागि ४ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

यसका अतिरिक्त सबै तहका विद्यार्थीले गाउन र स्कार्फ लिन २ हजार ५०० रुपैयाँ धरौटी राख्नुपर्नेछ। गाउन र स्कार्फ फिर्ता गर्दा ५०० रुपैयाँ मर्मतसम्भार शुल्क कट्टा गरी बाँकी धरौटी रकम विद्यार्थीको बैंक खातामा फिर्ता गरिनेछ।

दीक्षान्त समारोहमा विद्यार्थीले आफ्ना अभिभावकलाई समेत सहभागी गराउन पाउनेछन्। त्यसका लागि प्रत्येक अभिभावकका लागि ४०० रुपैयाँ शुल्क तोकिएको छ।

त्रिविको लोगो अंकित प्रमाणपत्र राख्ने फोल्डर लिन चाहने विद्यार्थीले थप ५०० रुपैयाँ बुझाउनुपर्नेछ।

दीक्षान्तको आवेदन तथा शुल्कसम्बन्धी रकम नेपाल बैंक लिमिटेड वा ग्लोबल आईएमई बैंकको अनलाइन बैंकिङ प्रणालीमार्फत मात्र भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार