अमेरिका जानुअघि प्रधानमन्त्रीलाई कांग्रेस नेताले भेटे, के भयो कुराकानी?

848 Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि कांग्रेस नेताहरूले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्।

सिंहदरबारमा भएको भेटमा कांग्रेस नेताहरूले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असर तथा पछिल्ला प्राकृतिक विपद्का विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा उठाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

भेटका क्रममा कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनको प्रभावका विषयमा तयार पारेको अवधारणापत्रसमेत प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरिएको थियो।

कांग्रेस उपसभापति शर्माका अनुसार नेपालले विश्वको कुल कार्बन उत्सर्जनमा निकै कम योगदान गरे पनि जलवायु परिवर्तनका कारण ठूलो क्षति व्यहोर्नुपरेको विषयलाई संयुक्त राष्ट्रसंघको महासभामा स्पष्ट रूपमा उठाउन आग्रह गरिएको छ। भोटेकोशी विपद्लगायतका घटनालाई अन्तर्राष्ट्रियकरण गर्दा आवश्यक प्रमाण र तथ्यसहित नेपालले आफ्नो दाबी प्रस्तुत गर्नुपर्ने सुझाव पनि दिइएको छ।

कांग्रेस नेताहरूले नेपालले कम कार्बन उत्सर्जन गर्ने साना राष्ट्रहरूको नेतृत्व गर्दै जलवायु न्यायका लागि अन्तर्राष्ट्रियस्तरमा पहल गर्नुपर्ने धारणा राखेका छन्। साथै, पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि ठूला राष्ट्रहरूसँग कूटनीतिक संवाद अघि बढाउन सुझाव दिइएको छ।

औपचारिक रूपमा महासभालाई सम्बोधन गर्ने मात्र नभई साइडलाइन भेटवार्ता तथा कूटनीतिक पहलमार्फत नेपालका मुद्दामा अन्तर्राष्ट्रिय समर्थन जुटाउनुपर्नेमा पनि कांग्रेस नेताहरूले जोड दिएका छन्।

प्रधानमन्त्री शाहले भने संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरिने विषयवस्तु विशेषज्ञहरूको सुझाव, तथ्य र प्रमाणका आधारमा तयार पारिने बताएका थिए। भेटवार्तालाई अमेरिका प्रस्थानअघि सरकार र प्रमुख प्रतिपक्षबीच राष्ट्रिय मुद्दामा साझा धारणा प्रस्तुत गर्ने प्रयासका रूपमा समेत हेरिएको छ।

सम्बन्धित समाचार