एमाले केन्द्रीय कमिटी बैठकस्थलमा नेताहरूको चहलपहल, बैठकमा सहभागी हुन पुगे नेताहरू

764 Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन विभिन्न नेताहरू बैठकस्थल पुगेका छन्। ललितपुरको भैंसेपाटीस्थित पार्टी प्यालेसमा सुरु हुने बैठकका लागि एमालेका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू त्यहाँ पुगेका हुन्। 

एमालेको ११औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी चयन भएको करिब नौ महिनापछि केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। बैठकअघि सचिवालयले छलफल गरी विभिन्न एजेन्डा तय गरेको छ।

बैठकमा पार्टीको निर्वाचन समीक्षा तथा पुनर्संरचनासम्बन्धी कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। त्यस्तै, पार्टीको आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशाबारे पनि छलफल हुने जनाइएको छ।

यस बैठकलाई एमालेको सांगठनिक संरचना निर्माणका दृष्टिले समेत महत्त्वपूर्ण मानिएको छ। हालसम्म पार्टीको स्थायी कमिटी र पोलिटब्युरो गठन हुन सकेको छैन। एमालेको विधानअनुसार यी संरचना केन्द्रीय कमिटीबाट गठन हुने व्यवस्था छ। 

बैठकस्थलमा नेताहरू आउने क्रमसँगै पार्टीभित्रको पछिल्लो राजनीतिक तथा सांगठनिक अवस्थाबारे पनि चासो बढेको छ। बैठकमा सहभागी नेताहरूले पार्टीको आगामी रणनीति र संगठन सञ्चालनसम्बन्धी विषयमा धारणा राख्ने तयारी गरेका छन्।

 
सम्बन्धित समाचार