एमाले केन्द्रीय कमिटी बैठकका यस्ता छन् एजेन्डा

729 Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भैंसेपाटीस्थित एक पार्टी प्यालेसमा सुरु हुँदैछ। बैठकअघि बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा छलफल हुने विभिन्न एजेन्डा तय गरेको छ।

बैठकमा पार्टीको निर्वाचन समीक्षा तथा पुनर्संरचनासम्बन्धी कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदन प्रमुख एजेन्डाका रूपमा प्रस्तुत हुने भएको छ। सचिवालयले यसअघि उक्त प्रतिवेदन ग्रहण गरिसकेको छ। प्रतिवेदनमाथि केन्द्रीय कमिटीमा छलफल गरी आवश्यक निर्णय लिइनेछ।

कार्यदलले चार महिनाको छलफलपछि तयार पारेको प्रतिवेदनमा पार्टीको नेतृत्व पुनर्गठनसम्बन्धी विषय समावेश गरिएको छैन। नेतृत्वसँग सम्बन्धित विषयमा भने केन्द्रीय कमिटीमा छुट्टै छलफल हुने नेताहरूले बताएका छन्। 

त्यस्तै, एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने विषय पनि केन्द्रीय कमिटीमा छलफल हुने एजेन्डामा रहेको छ। कार्यदलले राष्ट्रिय परिषद्को बैठक आयोजना गर्न सिफारिस गरेको थियो। 

केन्द्रीय कमिटी बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठन सञ्चालन तथा निर्वाचनसँग सम्बन्धित विषयमा समेत छलफल हुने बताइएको छ। एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको तेस्रो बैठक भएकाले सांगठनिक संरचनाका विषय पनि बैठकमा उठ्ने देखिएको छ। 

एमालेको विधानअनुसार केन्द्रीय कमिटीबाटै पोलिटब्युरो र स्थायी कमिटी गठन हुने व्यवस्था छ। हाल ३०१ सदस्यीय केन्द्रीय कमिटी रहेको र त्यसको एकतिहाइ अर्थात् १०० सदस्यीय पोलिटब्युरो तथा पोलिटब्युरोको एकतिहाइ अर्थात् ३३ सदस्यीय स्थायी कमिटी गठन हुने व्यवस्था रहेको छ। 

यसअघि महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी चयन भएको करिब नौ महिना बितिसक्दा पनि पोलिटब्युरो र स्थायी कमिटी गठन हुन सकेको छैन। केन्द्रीय कमिटी बैठकबाट यी संरचना गठन गर्ने विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन्। 

 
 
सम्बन्धित समाचार