पूर्वसूचना पाए पनि भोटेकोशी बाढीको जोखिम बुझेनन्, निमेषभरमै उजाडिए बस्ती

925 Shares

त्रिशूली । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीअघि नदी किनारका बस्तीमा जोखिमसम्बन्धी पूर्वसूचना पुगेको थियो। प्रहरीले माइकिङ गर्दै सुरक्षित स्थानमा जान आग्रहसमेत गरेको थियो। तर मौसम सफा रहेका कारण धेरै स्थानीयले सूचनाको गम्भीरता बुझ्न नसक्दा बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍यायो।

विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेलले बाढी आउँदै गरेको सूचना बिहानै पाएका थिए। नदी किनारबाट केही दूरीमा घर रहेकाले आफूलाई बाढीले घरसम्म असर नगर्ने उनको अनुमान थियो।

प्रहरीले माइकिङ गर्दै भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरेमा ठूलो क्षति पुर्‍याएको र ठूलो बाढी तीव्र गतिमा तलतिर आइरहेको भन्दै सुरक्षित स्थानमा जान आग्रह गरेको थियो। तर चेतावनी पाए पनि प्याकुरेलले बाढीको वास्तविक आकार यति भयावह होला भन्ने अनुमान गर्न सकेनन्।

केही मिनेटमै त्रिशूलीको भेल अस्वाभाविक रूपमा बढेपछि उनको घर चारैतिरबाट पानीले घेरियो। स्थानीय र सुरक्षाकर्मीको सहयोगमा प्याकुरेलसहित परिवारका पाँच जना र एक छिमेकी गरी छ जनाको उद्धार गरिएको थियो।

‘सूचना त आएको थियो, तर यति ठूलो बाढी आउँछ भन्ने विश्वासै लागेन। बाढी आँखैअगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै भएन,’ प्याकुरेलले भने।

बाढी हेर्न जाँदा आफैँ भेलमा

विदुर–१० वेत्रावतीका शशि डङ्गोलले पनि टिमुरेमा बाढीले क्षति पुर्‍याएको सूचना पाएपछि स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेका थिए। वेत्रावती प्रहरी चौकीले समेत माइकिङ गर्दै सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो।

तर बाढीको अवस्था बुझ्न नदी किनारतर्फ पुगेका डङ्गोल आफैँ भेलमा परे। उनलाई चारैतिरबाट आएको बाढीले घेर्‍यो। केही सेकेन्डको अन्तरले आफू बाँच्न सफल भएको उनको भनाइ छ।

बाढीमा परेर उनको खुट्टाको मांसपेशीमा चोट लागेको छ। तर आफ्नै आँखाअगाडि साथीभाइ र छिमेकीलाई बाढीले बगाएको दृश्यले उनलाई अझ बढी पीडा दिएको छ।

‘ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो, तर कत्रो ठूलो भन्ने अनुमानै भएन,’ उनले भने।

खबर पुर्‍याउन दौडिँदा परिवार नै गुमाए

रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुका कर्मा तामाङको पीडा अझ गहिरो छ। २०७२ सालको भूकम्पपछि विस्थापित भएर उत्तरगया–५ को खाल्डेमा बस्दै आएका तामाङले टिमुरेमा बाढी आएको खबर पाएपछि खाल्डे र सातबिसेका २५० भन्दा बढी परिवारलाई जानकारी गराउन दौडिएका थिए।

तर सूचना फैलाउन थालेको करिब १० मिनेटमै बाढी बस्तीमा आइपुग्यो। उनी आफैँ भेलबाट जोगिए पनि बुबाआमा र श्रीमतीसहित परिवारका १५ सदस्यलाई गुमाए। उक्त बस्तीका १०० भन्दा बढी मानिस अझै सम्पर्कविहीन रहेको खबरमा उल्लेख छ।

सूचना पुग्नु मात्र पर्याप्त रहेन

भोटेकोशीमा आएको बाढी रसुवागढी, घट्टेखोला हुँदै टिमुरेबाट तल्लो तटीय क्षेत्रमा तीव्र गतिमा फैलिएको थियो। पूर्वसूचना नदी किनारका बस्तीमा पुगे पनि क्षतिको वास्तविक आकार स्थानीयको अनुमानभन्दा निकै ठूलो देखियो।

विदुर–१ ढुङ्गेका विष्णु श्रेष्ठले आफ्नो चार रोपनी धानखेत त्रिशूली नदीबाट करिब ३०० मिटर दूरी र १०० मिटर उचाइमा रहे पनि बाढीले बगरमा परिणत गरेको बताए। टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, वेत्रावती, तुप्चे, त्रिशूली र देवीघाटका नदी किनारका बस्तीमा बाढीले ठूलो क्षति पुर्‍याएको थियो।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार मौसम सफा र घाम लागेको अवस्थामा आएको चेतावनीलाई धेरैले गम्भीरतापूर्वक लिन सकेनन्। उनका अनुसार विपद्का बेला सूचना कति छिटो पुग्यो भन्ने मात्र होइन, प्राप्त सूचनाको जोखिम र गम्भीरता बुझेर तत्काल सुरक्षित स्थानमा जान सकियो कि सकिएन भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

भोटेकोशी बाढीले पूर्वसूचना प्रणालीसँगै त्यसलाई स्थानीय समुदायले कसरी बुझ्ने र तत्काल व्यवहारमा उतार्ने भन्ने विषयलाई पनि विपद् व्यवस्थापनको महत्वपूर्ण पक्षका रूपमा उजागर गरेको छ।

सम्बन्धित समाचार