इन्द्रजात्राको तयारी अन्तिम चरणमा, सम्पदा क्षेत्रमा रङरोगन र सरसफाइ तीव्र

876 Shares

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा यस वर्षको इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ। जात्राका लागि रथ निर्माण, सम्पदा क्षेत्रको सरसफाइ, रङरोगन तथा आवश्यक व्यवस्थापनका काम तीव्र गतिमा भइरहेका छन्।

वसन्तपुर दरबार क्षेत्रका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायतका सम्पदामा रङरोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम भइरहेको छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार जात्राका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ।

उनका अनुसार इन्द्रजात्रालाई व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्न व्यवस्थापन समितिसँग आबद्ध ३१ गुठी खलःसँग पटक–पटक छलफल गरिएको छ। जात्राका क्रममा हुन सक्ने भीड व्यवस्थापन तथा सुरक्षाका विषयमा नेपाल प्रहरीसँग समेत समन्वय गरिएको उनले बताए।

“इन्द्रजात्रा राष्ट्रिय पर्व भएकाले जात्रा अवलोकन गर्न विदेशी पर्यटकसमेत ठूलो संख्यामा आउने गरेका छन्। उहाँहरूका लागि आवश्यक व्यवस्थापन पनि गरिरहेका छौँ,” अध्यक्ष शाक्यले भने।

विशेषगरी नेवार समुदायमा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको इन्द्रजात्रा काठमाडौँ उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका स्थानमा परम्परागत रूपमा मनाइन्छ।

इन्द्रजात्राको प्रमुख विधिमध्ये हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने परम्परा हो। लिङ्गो ठड्याउने धार्मिक विधिलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परा पनि रहेको छ।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार शत्रुमाथि विजय प्राप्त गरेपछिको उत्सवका रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा समेत यसको विशेष महत्त्व रहेको बताइन्छ।

इन्द्रजात्राको अवसरमा हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा पुजिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ।

लिङ्गो ठड्याएपछि सुरु हुने जात्रामा विभिन्न परम्परागत नाच तथा सांस्कृतिक प्रस्तुति गरिन्छ। भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा प्रस्तुत गरिने पुलुकिसी नाच इन्द्रजात्राका प्रमुख आकर्षण हुन्।

लिङ्गो ठड्याइएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पातन गरेपछि इन्द्रजात्रा विधिवत् रूपमा समापन गर्ने परम्परा रहेको अध्यक्ष शाक्यले बताए।

सम्बन्धित समाचार