घुसको आरोप छानबिन गर्न प्रदेश सरकारको समिति, सचिवको जिम्मेवारी खोसियो

932 Shares

पोखरा । पद्म नर्सिङ होमलाई ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति गर्ने अनुमति दिने क्रममा घुसको डिल भएको आरोप सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारले समेत छानबिन समिति गठन गरेको छ। यही प्रकरणमा स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलाको जिम्मेवारीसमेत खोसिएको छ। 

पद्म नर्सिङ होमलाई शय्या थप गर्ने अनुमति दिने क्रममा तत्कालीन स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र मन्त्रालयका सचिव बसौलाबीच आर्थिक लेनदेनका लागि बार्गेनिङ भएको आरोप सार्वजनिक भएको थियो। अस्पतालको खाताबाट तत्कालीन मन्त्रीका स्वकीय सचिवको नाममा ३० लाख रुपैयाँको चेक काटिएको विवरणसमेत बाहिरिएको छ। 

तर आरोपमा जोडिएका तत्कालीन मन्त्री पाण्डेले आफूले कुनै रकम नलिएको दाबी गरेका छन्। उनले अस्पतालको मापदण्ड पूरा भएको अवस्थामा कानुनअनुसार अनुमति दिनुपर्ने पक्षमा आफू रहेको बताएका छन्। स्वकीय सचिव पौडेलले पनि रकमबारे छलफल भएको स्वीकार गरे पनि आफूले पैसा नलिएको बताएका छन्। 

मन्त्रालयका सचिव बसौलाले भने आफूले कुनै रकम नमागेको र गलत काम नगरेको स्पष्टिकरण दिएका छन्। आरोप सार्वजनिक भएपछि घटनाको वास्तविकता पत्ता लगाउन प्रदेश सरकारले छानबिन प्रक्रिया अघि बढाएको हो। 

यसैबीच, नेकपा एमालेले पनि तत्कालीन स्वास्थ्यमन्त्री पाण्डे र उनका स्वकीय सचिव पौडेलमाथि लागेको आरोपबारे छुट्टै छानबिन समिति गठन गरेको छ। एमालेको तीन सदस्यीय समितिलाई १५ दिनभित्र तथ्य छानबिन गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ। 

घुसको आरोप सार्वजनिक भएपछि प्रदेश सरकार र सम्बन्धित राजनीतिक दल दुवैतर्फबाट छानबिन अघि बढेपछि पद्म नर्सिङ होमको शय्या विस्तार अनुमति प्रकरण थप चर्चामा आएको छ। छानबिनबाट आर्थिक लेनदेन भएको वा नभएको विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।

 
 
सम्बन्धित समाचार