जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगास्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको सुकेश्वर महादेव मन्दिर र पोखरीको सौन्दर्यीकरणका नाममा बजेट खर्च भए पनि अपेक्षित काम हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन्।
शुकदेव ऋषिको तपोभूमिका रूपमा परिचित यो क्षेत्र मिथिला र रामायणकालीन इतिहाससँग समेत जोडिएको स्थानीयको भनाइ छ। महाशिवरात्रि, साउनका सोमबार तथा विवाह पञ्चमीजस्ता अवसरमा यहाँ भक्तजन तथा पर्यटकको भीड लाग्ने गर्छ। प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/७७ देखि नै मन्दिर तथा पोखरीको सौन्दर्यीकरणका लागि बजेट विनियोजन हुँदै आएको स्थानीयवासी बताउँछन्। आर्थिक वर्ष २०७८ मा प्रदेश सरकारबाट मात्रै करिब १ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताइएको छ। उक्त रकमबाट पोखरीका चारैतर्फ पक्की घाट, शौचालय, धर्मशाला, हरित पार्क, बस्ने बेन्च तथा राति उज्यालोका लागि सडक र सोलार बत्ती निर्माण गर्ने योजना थियो।
तर योजनाअनुसार अधिकांश काम पूरा हुन सकेको छैन। पोखरीका चारैतर्फ घाट निर्माण गर्ने भनिए पनि करिब पाँच–छ वटा घाट मात्र बनेका छन्। ती घाटका सिँढीसमेत निकै साँघुरा रहेको स्थानीयको गुनासो छ। एक स्थानीयका अनुसार कतिपय घाटमा ओर्लिएपछि पुनः बाहिर निस्कनसमेत कठिन हुने अवस्था छ। Ratopati
निर्माण गर्ने भनिएको शौचालयसमेत अधुरै छ। प्रयोगमा आउनुपर्ने संरचनामा झारपात उम्रिएर झाडी बनेको स्थानीयले बताएका छन्। धर्मशालाका लागि निर्माण गरिएको संरचना पनि जीर्ण बन्दै गएको छ। कतिपय ठाउँमा ठेकेदारले काम अधुरै छाडेर निर्माण सामग्रीसमेत अलपत्र पारेको स्थानीयको भनाइ छ।
स्थानीय सन्तोष चौधरीका अनुसार घाटका सिँढी करिब १२ इन्च मात्र चौडा छन्। उनका अनुसार मानिस बस्न तथा नुहाउन सहज हुने गरी कम्तीमा अढाईदेखि तीन फिट चौडा बनाउनुपर्ने थियो। स्थानीयले निर्माणकै क्रममा डिजाइन र संरचनाबारे ध्यानाकर्षण गराए पनि त्यसअनुसार काम नभएको गुनासो गरेका छन्।
पोखरी वरिपरि हरित पार्क, फोहोरा तथा शवदाह गृह निर्माण गर्ने योजनासमेत अघि सारिएको थियो। तर ती योजना कार्यान्वयन हुन नसकेको स्थानीयको भनाइ छ। उनीहरूका अनुसार प्रदेश सरकारसँगै जलेश्वर नगरपालिकाले समेत विभिन्न आर्थिक वर्षमा टुक्रे बजेटमार्फत सौन्दर्यीकरणमा खर्च गर्दै आएको छ।
सुकेश्वर महादेव मन्दिरका पुजारी हरिकान्त चौधरीले ऐतिहासिक तथा धार्मिक महत्त्वको क्षेत्र भए पनि संरक्षणमा पर्याप्त ध्यान नदिइएको बताए। निर्माण भएका संरचनासमेत अधुरा र जीर्ण अवस्थामा रहेको उनको भनाइ छ। बजेट विनियोजनपछि काम सम्पन्न भए–नभएको प्रभावकारी अनुगमन नहुँदा लगानीको सदुपयोग हुन नसकेको स्थानीयको आरोप छ।
स्थानीयवासीले ऐतिहासिक सम्पदाको संरक्षणका लागि दीर्घकालीन योजना, प्रभावकारी अनुगमन र निर्माणाधीन कामको शीघ्र पूर्णता आवश्यक रहेको बताएका छन्।