च्यासलमा एमाले सचिवालय बैठक, पुनर्गठन कार्यदलको प्रतिवेदनमाथि बहस

694 Shares

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा जारी छ । आइतबारदेखि सुरु भएको बैठक सोमबार बिहानसम्मका लागि स्थगित गरिएको थियो । स्थगित बैठकको निरन्तरताका रूपमा आज पुनः बैठक बसेको हो ।

आइतबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एमाले पुनर्गठन कार्यदलले तयार पारेको साझा प्रतिवेदन पेस गरेका थिए ।

पुनर्गठन कार्यदलले पार्टीभित्र देखिएको विवाद र संगठनात्मक अवस्थालाई सम्बोधन गर्ने उद्देश्यले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा पार्टीको आगामी दिशा, संगठनात्मक सुधार तथा समसामयिक विषयमा सुझावहरू समेटिएको बताइएको छ ।

आजको बैठकमा उक्त प्रतिवेदनमाथि सचिवालय सदस्यहरूले धारणा राख्ने र आवश्यक छलफल गर्ने तयारी छ । प्रतिवेदनका सुझाव तथा त्यसमा समेटिएका विषयलाई लिएर नेताहरूबीच छलफल हुने बताइएको छ ।

एमालेभित्र पछिल्लो समय पार्टी पुनर्गठन, संगठन सुदृढीकरण तथा नेतृत्वसँग सम्बन्धित विषयमा बहस चलिरहेको छ । त्यसैबीच पुनर्गठन कार्यदलको साझा प्रतिवेदन सचिवालयमा पेस भएपछि त्यसलाई आगामी निर्णयका लागि महत्वपूर्ण आधारका रूपमा हेरिएको छ ।

सचिवालय बैठकले प्रतिवेदनमाथिको छलफलपछि पार्टीको आगामी कार्यदिशा र संगठनात्मक विषयमा आवश्यक निर्णय लिन सक्ने नेताहरूले बताएका छन् ।

सम्बन्धित समाचार