काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन ७१ जिल्लामा सुरु भएको छ। शनिबारदेखि सुरु भएको वडा अधिवेशनको प्रक्रिया आइतबार पनि विभिन्न जिल्लामा जारी रहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार शनिबार ४३ जिल्लामा वडा अधिवेशनको प्रक्रिया सुरु भएको थियो। आइतबार थप २८ जिल्लामा अधिवेशन प्रक्रिया सुरु भएपछि वडा अधिवेशन सुरु भएका जिल्लाको संख्या ७१ पुगेको हो।
मधेश प्रदेशका केही जिल्लामा भने वडा अधिवेशनको प्रक्रिया अझै सुरु हुन बाँकी छ। सिरहामा आइतबार केही समयपछि वडा अधिवेशन सुरु हुने र सप्तरीमा सोमबारदेखि प्रक्रिया अघि बढ्ने कटुवालले जानकारी दिए।
त्यस्तै, सर्लाहीमा क्षेत्र नम्बर २ बाहेकका क्षेत्रमा वडा अधिवेशन सुरु भएको छ। रौतहटमा पनि क्षेत्र नम्बर १ बाहेकका क्षेत्रमा अधिवेशन प्रक्रिया अघि बढेको निर्वाचन समितिले जनाएको छ।
बाढीका कारण प्रभावित जिल्लाहरूमा भने कांग्रेसले वडा अधिवेशनको मिति केही पछि सारेको छ। रसुवा र नुवाकोटमा असोज ७ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ।
त्यस्तै, बाढी प्रभावित अर्को जिल्ला धादिङमा असोज ५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरिएको छ।
कांग्रेसले पार्टीको महाधिवेशनअन्तर्गत वडा तहबाट अधिवेशन प्रक्रिया अघि बढाएको हो। विभिन्न जिल्लामा वडा अधिवेशन सम्पन्न भएपछि क्रमशः पालिका, प्रदेश निर्वाचन क्षेत्र तथा अन्य तहका अधिवेशन अघि बढ्नेछन्।
बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित जिल्लामा स्थानीय अवस्थालाई ध्यानमा राखेर अधिवेशनको मिति समायोजन गरिएको निर्वाचन समितिले जनाएको छ।